४ जेष्ठ २०८१, शुक्रबार

भारतको अस्पतालबाट फरार कोरोना संक्रमित नेपाली पक्राउ

corona nepal

भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राती भागेका एकजना नेपाली कोरोनाभाइरस सङक्रमित फेला परेको त्यहाँका प्रहरी प्रमुखले जानकारी दिएका छन्।

धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जनाएको छ।

शुक्रवार उनमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो। तर सोमवार राती अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेको भन्दै उनलाई खोज्न सघाउन बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो।

बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवका अनुसार उपचारकै क्रममा फरार भएपछि खोजी गर्दा उनी पक्राउ परेका हुन्। उत्तर प्रदेश प्रहरीले उनलाई पक्राउ गर्न १० वटा टोली परिचालन गरेको थियो। 

पक्राउ परेका ती ६५ वर्षीय नेपालीलाई जिल्ला अस्पतालमा भर्ना गरेर कोभिड-१९ को उपचार थालिएको छ। कोरोना संक्रमित भएकाले उनलाई प्रहरीले उच्च निगरानीमा राखेर उपचार थालेको छ। 

कोरोना संक्रमित भए पनि मियाँको अवस्था साधारण रहेकाले स्वास्थ्यमा त्यस्तो कुनै जटिलता छैन। उनी के कारणले अस्पतालबाट भागे भन्‍ने प्रहरीले अनुसन्धान गरिरहेको छ।