७ बैशाख २०८१, शुक्रबार

चितवनमा गैंडा प्रकरणः ठेकेदार, निकुञ्जका कर्मचारी र सेनालाई विभागीय कारवाही गर्न सिफारिस

raino

चितवनको भरतपुरस्थित पूर्वपश्चिम राजमार्गको गोन्द्राङमा बन्दै गरेको नालामा खसेर एक गैंडाको मृत्यु भएपछि चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र र नेपाली सेनालाई विभागिय कारवाही गर्न सिफारिस भएको छ ।

वन तथा वातावरण मन्त्रालयले बनाएको छानविन समितिले १० दिन अनुसन्धान पश्चात बुझाएको प्रतिवेदनमा कर्मचारीलाई दोषी देखिएको ठहर गर्दै चितवन निकुञ्जका कर्मचारीहरूलाई समेत विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।

यही माघ १० गते बन्दै गरेको नालामा खसेर गैंडा मरेको थियो ।

समितिले प्रतिवेदनमा ‘सम्बन्धित निकुञ्ज कार्यालयका कर्मचारीहरूलाई प्रचलित निजामति सेवा ऐन, २०४९ तथा अन्य प्रचलित कानुनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक नगरेकोमा विभागीय कारबाही गर्नुपर्ने’ उल्लेख छ ।

प्रतिवेदनमा सडक बिस्तार गर्ने इण्डो सगुन जेभीले पर्याप्त साबधानी नपुर्‍याएको र चरम लापरबाही गरेका कारण गैंडाको मृत्यु भएको ठहर गर्दै उक्त कम्पनीका सम्बन्धित व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार मुद्दाको अनुसन्धान तथा तहकिकात गरी कारबाही गर्न भनिएको छ ।