१२ बैशाख २०८१, बुधबार

होटलको स्तर वर्गीकरण प्रमाणपत्र र क्यासिनो चलाउने इजाजत पत्र रद्द

yaknyeti

दरबारमार्गमा रहेको याक एण्ड यति होटलमा सञ्चालित क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द भएको छ । नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम दाखिला नगरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरेको हो ।

क्यासिनोले इजाजतपत्र नवीकरण दस्तुर, रोयल्टी दस्तुर तथा बाँकी बक्यौता गरी ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ बुझाउन बाँकी रहेको मन्त्रालय अन्तर्गत पर्यटन विभागको होटल शाखाले जनाएको छ ।

यस सन्दर्भमा विभिन्न मितिमा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिकमा समेत सार्वजनिक सूचना निकाल्दा पनि नेपाल सरकारलाई सो रकम नतिरेकोले क्यासिनो सञ्चालनको इजाजत पत्र र पाँच तारा स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गरेको जनाएको हो ।

मन्त्रिपरिषद्को बैठकले साथै होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति तथा बैंक खाता र वित्तीय कारोबार रोक्का राख्ने निर्णय गरिएको जिसीको भनाइ छ ।