७ बैशाख २०८१, शुक्रबार

कुर्था–जयनगर रेल सेवा फागुन १ गतेदेखि ‘ड्राइ रन’ को तयारी

nepal railway 1

फागुन १ गतेदेखि धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल नियमित सञ्चालन पूर्व ड्राइ रन सञ्चालन गरिने तयारी गरिएको छ । रेल सञ्चालनमा आइसकेपछि अवरोध नहोस भन्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि प्रत्येक दिन एक पटक कुर्था–जयनगरसम्म ड्राइ रन रेल सञ्चालनको तयारी गरिएको हो ।

रेल सञ्चालन भएपनि त्यसमा यात्रु नबोक्ने नै ड्राइ रन भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो । खाली रेल चलाएर इन्जिन, बोगी, लिक, ट्रयाक, लाइट, संकेतलगायतको परीक्षण हुन्छ । ड्राइ रनको क्रममा फल्टहरु फेला परेमा मर्मत सम्भार गर्ने योजना रहेको छ ।

ड्राइ रनको लागि रेलको लिंक वरिपरि अतिक्रमण गरी लगाएको हाटबजारको व्यवस्थापन, टहरा छाप्रो हटाउने, एलसी गेट (लेभल क्रसिङ्ग) द्वार, स्टेशन, हाल्ट सेन्टरसहित अन्य भौतिक संरचना तथा प्राविधिक मर्मत सम्भार गरी चालु अवस्थामा ल्याउने काम अन्तिम चरणमा रहेको झाले बताउनुभयो ।

कुर्था–जयनगरसम्म ३४.९ किलो मीटरसम्म चल्ने रेल मार्गको विभिन्न स्थानका गरी २२ स्थानमा आधिकारिक एलसी गेट र १७ स्थानमा अनाधिकारिक एलसी गेट रहेको उहाँले बताउनुभयो । अनाधिकारिक गेटको व्यवस्थापन गर्न चुनौति थपिएको छ । त्यहाँ रोक्न सकिएन भने रेल आएको बेला दुर्घटना हुन सक्छ । तर, हामीले आधिकारिक रुपमा रोक्न सकिदैनौ ।

जनकपुरधाम क्षेत्रभित्रै ५० मीटरको दूरीभित्रै तीनवटा आधिकारिक गेट रहेको छ भने दुई वटा अनाधिकारिक गेटले थप चुनौति रहेको उहाँले बताउनुभयो । त्यसको व्यवस्थापनका लागि स्थानीय तहका जनप्रतिनिधिहरुसँग समन्वय सहकार्य भइरहेको छ । कुर्था–जयनगरसम्म पाँच वटा स्टेशन र तीन वटा हाल्ट सेन्टर रहेको छ ।

यता लामो समयको आशमा बसेका मधेस प्रदेशका नागरिक रेल सेवा सञ्चालन हुने जानकारी पाएपछि हर्षित भएका छन् । खासगरी रेलमा चढ्ने वर्षाैँदेखिको सपना पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहित धनुषावासीको अनुहारमा खुशी देखिएको छ । रेल सञ्चालन हुन्छ भने आशा मरिसकेको थियो औरहीका दिनेशकुमार मण्डलले भन्नुभयो, “रेल सञ्चालन हुने खबर सुनेपछि हामी धेरै खुशी भएका छौ ।”

२०७७ असोज २ गते भारतीय कम्पनी कर्पाेरेशनबाट ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरिएको दुई सेट रेल तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

ड्राइ रनको परीक्षणलगतै फागुन महिनाको दोस्रो साताभित्रै रेल सेवाको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भइरहेको महाप्रबन्धक झाले बताउनुभयो । दुई तीन दिनभित्रै उद्घाटनको मिति तय हुने उहाँले बताउनुभयो ।

सन् २०२२ को फेब्रुअरी तेस्रो साताबाट जयनगर–कुर्था रेल सेवा सञ्चालन गर्ने तयारी गरेका नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक झाले भन्नुभयो, “रेल चलाउन अब कुनै समस्या छैन, केवल उद्घाटन हुन मात्र बाँकी छ । रेल सेवाको उदघाटन गरेपछि नियमित रूपमा रेल सञ्चालन हुने उहाँको भनाई छ ।

सुरुको पहिलो १५ दिनसम्म एक पटक आउने र जाने गरी रेल सञ्चालन गर्छौ उहाँले भन्नुभयो, त्यसपछि यात्रुको चाप र आवश्यकता हेरेर दिनमा दुई–तीन पटकसम्म पनि रेल सञ्चालन गर्न सकिन्छ । जयनगरबाट कुर्थासम्म सामान्य सीटमा प्रतियात्रु ७० र एसी सीटमा ३०० रुपियाँ भाडा निर्धारण गरिएको उहाँले बताउनुभयो ।