७ बैशाख २०८१, शुक्रबार

विवाद ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’: अन्जुको प्रतिक्रिया दुखद र अन्यायपूर्ण

196638719 997752274298696 4493507689633988991 n 1

करिब एक दशकअघि अञ्जु पन्तको स्वरमा रेकर्ड भएको गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ निकै चर्चित भयो। यो गीत केही दिन अघि रचना रिमालको स्वरमा सार्वजनिक गरियो । सार्वजनिक भए लगत्तै यो गीत दुई कारणमा विवादमा आयो, एउटा त माइलस्टोन गीतलाई रचनाले गाउन के जरुरी थियो ? भनेर र अर्को गीतमा यसको ओर्जिनल गायिका अन्जु पन्तलाई क्रेडिट नदिएकोमा ।

अन्जु पन्तका समर्थक उनलाई क्रेडिट नदिएकोमा आक्रोशित भइरहँदा अमेरिकामा रहेकी अन्जु पन्तले भने यो विषयमा मुख खोलेकी थिइनन् । तर बुधबार बिहानै फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले फ्यानको चासोलाई जायज ठानेकी छन् , उनले रचनालाई आफ्नो छोरीको उमेरको गायिका भन्दै आफूलाई क्रेडित नदिएकोमा भने असन्तुष्टि व्यक्त गरेकी छन् ।

गीतप्रति आम श्रोता र संगीतकर्मीहरुले दुःख व्यक्त गरिरहेको समयमा अन्जुको यस्तो भनाइ आएको हो ।

विवाह गरे लगत्तै अमेरिका गएकी अन्जु पन्त लामो समय भयो नेपाल फर्किएकी छैनन् । हाल अमेरिकामा रहेकी गायिकाले सामाजिक संजालमा लेखेकी छिन् :- मेरा सम्पूर्ण श्रोता,दर्शक तथा शुभचिन्तकमा अभिवादन
भर्खरै पुनःरेकर्ड भएर युट्युवमा सार्वजानिक भएको न विर्षेँ तिमीलाई न पाएँ तिमीलाई गजलको नयाँ भर्सन आएको खवर थाहा पाएँ । यसपछि धेरै संगीतकर्मी, सञ्चारकर्मी तथा मलाई माया गर्ने शुभचिन्तकहरुले जिज्ञासा र चिन्ता ब्यक्त गर्नुभएको पाएँ । हाल म काम बिशेषले विदेशमा भएको कारणले तुरुन्तै प्रतिक्रिया जनाउन सकिन यसप्रति क्षमा प्रार्थी छु ।

यो गजल सर्जक विपिन किरणको शब्द, संगीतकार महेश खड्काको संगीत, किरण कँडेलको एरेन्ज रहेको साथै शम्भु तन्डुकारले रेकर्डिङ र महेश्वर राजभण्डारीले मिक्सिङ गर्नुभएको थियो भने यो गजलमा मैले आवाज दिएकी थिएँ । नेपाली सांगीतिक इतिहासमा अति नै लोकप्रिय जन–जनको मन मुटुमा बस्न सफल यो गजल पछि मेल आवाजमा गायक जगदिश समालले पनि गाउनुभयो ।

आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको उक्त गजललाई नयाँ गायक गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन त्यो विषयमा मेरो केही भन्नु छैन । केही समयअघि विपिन किरण भाईले यो गजलको नयाँ एरेन्जमा मेरो आवाजमा नै रिरेकर्ड गर्ने भन्नु भएको थियो र सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज पनि मलाई पठाउनु भएको थियो र हामी समयअनुकुल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौ । यसैक्रममा उहाँले कभरको रुपमा किड्स भर्सन नयाँ भाइ बहिनीहरुलाई गाउन दिने कुरा मसँग सोध्नुभएको थियो र मैले खुशीसाथ हुन्छ भनेकी थिएँ ।

अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशिर्वाद र धेरै माया छ र रहिरहने छ । उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाँही दुखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन । म एक ब्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलीका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ ।

आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ । भविश्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभुति गर्ने दिन कहिल्यै नआओस् ।

मेरा लाखौँ सहकर्मी, श्रोता, दर्शकहरुबाट पाएको माया र सम्मानप्रति सदैब आभार ब्यक्त गर्दछु ।