१३ बैशाख २०८१, बिहीबार

समाहित विप्लव समूहको इन्चार्जसहितको जुम्ला जिल्ला समिति माओवादी केन्द्रमा

khumultar..

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिङ्गो जिल्ला पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा समाहित भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिवास खुमलटारमा आज बिहान आयोजित एक कार्यक्रमकाबीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रविकिरण)सहित जिल्ला सचिव, सह–सचिवलगायतका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले ढिलोचाँडाे माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताउनुभयो । परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझैँ लड्दै जान पनि माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको उहाँको भनाइ थियो ।

‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन्, ’ उहाँले भन्नुभयो, हामी यति ठूलो परिवर्तनका बहाकहरु विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’

उहाँले अहिले विस्तारै विभाजनका घाउहरु बिर्सिदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरु एक ठाउँमा केन्द्रित हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौँ । हामीलाई कसैले परास्त गर्न सक्दैन ।’ अध्यक्षले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताउनुभयो ।

प्रवेश गर्नेतर्फबाट चन्द्रवीर तिरुवाले नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने बताउनुभयो । अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष प्रचण्ड नेतृत्वको पार्टीमा घर फर्किएको उहाँको भनाइ थियो ।