१२ बैशाख २०८१, बुधबार

अध्यक्ष प्रचण्डको स्वीकारोक्ति: तत्कालीन कार्यनीतिको पछाडि दीर्घकालीन रणनीति

prachanda 2
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि दीर्घकालीन रणनीति हुने बताउनु भएको छ ।

ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले तत्कालीन कार्यनीति पछाडी दीर्घकालीन रणनीति हुन्छ भन्ने कुरा बुझ्नु पर्नेमा जोड दिनु भयो ।

यही कुरा नबुझ्दा विगतमा पार्टी फुटेको बताउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछि कुरा बुझेकाहरु पार्टीमा फर्किन थालेको उल्लेख गर्नुभयो ।

उहाँले ढिलो चाँडो क्रान्तिका सहयात्री एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताउँदै आफूहरु रणनीतिक सोचका साथ अगाडि बढेको बताउनुभयो ।

परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नागरिकको भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्ति एकजुट हुन आवश्यक भएकोमा उहाँको जोड छ ।

खुमलटारमा नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेकपा जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवासहित जिल्ला कमिटीका सदस्यहरु माओवादीमा प्रवेश गरेका छन् ।