१६ चैत्र २०८०, शुक्रबार

मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने

samsadiya samiti

राष्ट्रियसभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले पेट्रोलियम पदार्थको मूल्यका बिषयमा अध्ययन गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले पेट्रोलियम पदार्थको निरन्तरको मूल्यबृद्धिको कारण लगाएतका बिषयमा अध्ययन गर्न उपसमिति बनाउने निर्णय गरेको हो ।

उपसमितिको संयोजकमा दुर्गा पौडेल तथा सदस्यहरुमा खेम लोहनी र लक्ष्मी परियार रहेको समिति सभापति निरा देवी जैरुले जानकारी दिनुभयो । उहाले सरकारको कामलाई पनि सहजता प्रदान गर्ने गरि उपसमितिले अध्ययन गर्ने बताए ।

बैठकमा नेपाल आयल निगमका निर्देशक सुशील भट्टराईले १५–१५ दिनमा मूल्य समायोजन गर्दा पनि घाटापूर्ति हुने अवस्था नरहेको बताए । निगम घाटामा गइरहेकाले तेल किन्ने समस्या सदैव देखिएको उनको भनाई छ ।

बैठकमा सांसदहरुले पेट्रोलियम पदार्थमा राज्यले लगाएको करका बारेमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए । सांसद भीम रावलले नेपाल भित्र पेट्रोलियम पदार्थको अन्वेषण गर्ने यसअघिको योजनालाई सरकारले पुन सुरु गर्नुपर्ने बताए । त्यस्तै उहाले सिधै कच्चा तेल ल्याउने बिषयमा पनि अव बिचार गर्नुपर्ने बेला आएको बताए ।

सांसद दीनानाथ शर्माले पेट्रोलियम पदार्थको मागलाई घटाउनका लागि बिद्युतीय समाग्रीको प्रयोगलाई बढावा दिने नीति ल्याउनुपर्ने बताए ।

त्यस्तै सांसदहरुले चूहावट लगाएत अन्य कमीकमजोरीलाई निगमले सुधार गर्दै अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।