१४ जेष्ठ २०७९, शनिबार

संक्रमण घटेपनि काेराेनाकाे जाेखिम कायम छ, स्वास्थ्य मापदण्ड पालना गराैं : स्वास्थ्य मन्त्रालय

helth ministry office nepal

सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बनाएको छ । काठमाडौं उपत्यका लगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानहरुमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउनुका साथै फिल्महल सञ्चालन गर्न पाउने जस्ता आर्थिक तथा भौतिक गतिविधिहरुलाई सञ्चालन गरेर जनजीवनलाई थप सहज बनाएको हो ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरुको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो ।

उहाँले कोरोनाका बिरामीहरु अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको र संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको उल्लेख गर्दै जनजीवनलाई सहजीकरण गरिएको बताउनुभयो । सहप्रवक्ता अधिकारीका अनुसार नेपालमा १२ वर्ष माथिका १८ वर्ष मुनिका बालबालिकाहरुको संख्या अनुमानित ३४ लाख रहेको र ती मध्ये ३० लाख बालबालिकाहरुले खोपको पहिलो मात्रा लगाइसकेको बताउनुभयो।

उहाँले यो उमेर समूहका बाँकी ४ लाख बालबालिकालाई पनि चाँडै नै खोप उपलब्ध गराउने काम भइरहेको बताउनुभयो । सह प्रवक्ता अधिकारीले कोरोना संक्रमण भइ निको हुनेको संख्या बढी रहेकोले उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता पनि विकास भइरहेको र स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी जनजीवनलाई खुकुलो बनाउँदै लगिएको बताउनु उल्लेख गर्नुभयो ।

सहप्रवक्ता अधिकारीले भन्नुभयो, ‘कोभिड १९ संक्रमणको पछिल्लो अवस्था हेर्ने हो भने दैनिक रुपमा संक्रमण पुष्टि हुनेहरुको संख्या कम हुँदै गएको छ । अस्पताल भर्ना हुनेहरुको संख्यामा पनि सुधार हुँदै आइरहेको अवस्था छ । यद्यपी कोरोनाको जोखिम भने कायम छ । हामीले जोखिमबाट शतर्कता अपनाउनु पर्ने, सावधान रहनुपर्ने कुराहरु छँदैछन्।’

उहाँले भन्नुभयाे, ‘सबै कुराहरुको विश्लेषण गर्दा अहिले पछिल्लो अवस्था जनजीवनलाई पनि सहज बनाउँदै जनस्वास्थ्यका मापदण्डहरुको पूर्णरुपमा पालना गर्दै जाँदा सबैलाई सहज हुने भन्ने सोचेर सरकारले पछिल्ला निर्णयहरु लिँदै गइरहेको अवस्था छ । हामीले बालबालिकाको कुरा गर्यौं भने पनि १२ वर्ष माथिका १८ वर्ष मुनिका बालबालिकाहरुको संख्या अनुमानित रुपमा ३४ लाख जति खोप लगाउनु पर्नेछ । मोडर्ना र फाइजरको खोप एक मात्रा प्रयोग भएको तथ्यांक हेर्दा ३० लाखको हाराहारी प्रयोग भएको देखिन्छ ।’

सहप्रवक्ता अधिकारीले भन्नुभयाे, ‘जनस्वास्थ्यका मापदण्डको विषयमा हामी धेरै जानकार छौँ । हामीले सबै कुराहरु पालना गर्दै जान्छौँ भन्ने कुराको अपेक्षासहित जनजीवनलाई खुकुलो बनाउने सरकारले कदमहरु लिन थालेको हो । जसले जोखिमका बीचमा पनि हामी सजग भएर सुरक्षित रहनसक्ने अवस्था हुनसक्छ भन्ने हाम्रो अनुमान हो ।’

अधिकारीले कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, बेलाबेलामा साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न पनि आग्रह गर्नुभयो।