६ चैत्र २०८०, मंगलवार

एउटै गाँउमा ६५ सगरमाथा आरोही

Bedin dolakha

हिमाली जिल्ला दोलखाको बेदेङ गाउँका ६५ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । ३ सय ११ जनसङ्ख्या रहेको यो गाउँका ६ जना महिला सहित ६५ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको आरोही दावाछिरी शेर्पाले बताउनुभयो ।

दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ९ मा पर्ने यो गाउँ च्छो रोल्पा हिमताल पदमार्गको मुख्य गन्तव्य समेत हो । यो गाँउमा ८३ घरधुरी रहेको छ । ६५ जना सगरमाथा आरोही मध्य ९ जनाको भने मृत्यु भइसकेको छ ।

बेदिङका मिङ्मा छिरी शेर्पाले सबैभन्दा बढी २० पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पेमाछिरीङ शेर्पाले १९ पटक, निमागोम्बु शेर्पाले १८ पटक र आफूले १३ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको दावाछिरीले बताउनुभयो ।

हिमाल आरोहणको अन्तर्राष्ट्रिय गाइड समेत रहनुभएका मिङ्मा छिरी शेर्पाले बेदिङकै दावाटाँसि शेर्पा, पेम्बादोर्जे शेर्पा (ठूलो) र गेल्बु शेर्पा (मृत्यु भइसकेको) सहित सन् १९९७ मा नेपालबाट पहिलो पटक पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो शिखर केटुको समेत सफल आरोहण गर्नुभएको थियो । त्यसैगरी बेदिङकै मिङमा गेल्जेन शेर्पा, दावातेन्जीङ शेर्पा र किलि पेम्बा शेर्पाले जाडो सिजनमा विश्वमै पहिलो पटक केटु हिमालको सफल आरोहण गरेको आरोही दावाछिरीले बताउनुभयो ।

च्छो रोल्पा हिमतालको मुख्य गन्तव्य नाका र हिमाल आरोहीहरूको गाउँ भएकोले अहिले यो क्षेत्रमा पर्यटकहरूको चहलपहल निक्कै बढेको स्थानीयहरू बताउँछन् । बेदिङका बासिन्दा जाडो मौसममा ना गाँउमा बस्ने गर्छन् । अहिले बेदिङ र ना गाँउमा धेरै सुविधा सम्पन्न होटल र होमस्टे समेत सञ्चालनमा आएको स्थानीयको भनाई छ ।

चिसो मौसममा अक्सिजन लगायतका समस्याका कारण धेरै पर्यटक र स्थानीय समेत बिरामी पर्ने गरेको तर प्रतिबन्धित क्षेत्र भनेर यो क्षेत्रमा सरकारले अनुमति विना हेलिकप्टर उडाउन गर्न नदिएकोले सडक मार्गले नछोएको यो ठाउँमा बिरामीलाई स्वास्थ्य केन्द्रसम्म पुर्‍याउन समस्या भएको आरोही दावाछिरीले बताउनुभयो ।

पर्यटक तथा स्थानीय बिरामी परेर हेलिकप्टर ल्याउन अनुमति लिँदालिँदै कति जनाको त मृत्यु भइसक्ने दावाछिरी बताउनु हुन्छ । यसरी अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको उहाँले बताउनुभयो ।

बेदिङ र ना मा अनुमति विनै हेलिकप्टर उडाउने व्यवस्था गर्न माउण्ट एभरेष्ट समिटर्स क्लब, गुम्बा व्यवस्थापन समिति र ठेमुलुङ सामुदायिक बन बेदिङले संयुक्त रुपमा दोलखाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको माउण्ट एभरेष्ट समिटर्स क्लबका अध्यक्ष समेत रहेका आरोही दावाछिरीले बताउनुभयो ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले बेदिङवासीले हेलिकप्टर उडाउने अनुमतिको विषयमा निवेदन दिएको तर त्यसको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनको नभएकोले गृह मन्त्रालयमा निवेदन पठाइने बताउनुभयो ।