८ बैशाख २०८१, शनिबार

नोकझोक: गठबन्धन टुट्न सक्ने चेतावनी !

gathabandhan
फाइल फोटो

पाँच दलीय सत्तारुढ गठबन्धनमा एमसीसी पत्र सार्वजनिक भएपछि राजनीतिक तरंग पैदा भएको छ । आज प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेट हुँदै छ । उक्त भेटलाई चासोका साथ हेरिएको छ ।

एमसीसीकै कारण नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री तथा कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवाबीच सम्बन्ध चिसिएको चर्चा हुन थालेको छ ।

प्रचण्डले प्रधानमन्त्री देउवाको सचिवालयबाट अप्रासंगिक रुपमा पत्र सार्वजनिक गरिएको विषयलाई सामान्य ढंगले लिन नसकिने विश्लेषण गरेका हुन् ।

गत सेप्टेम्बरमा एमसीसीलाई लेखेको संयुक्त पत्र सार्वजनिक भएपछि प्रचण्ड देउवासँग रुष्ट भएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री देउवा र प्रचण्डबीच टेलिफोन वार्तामा प्रचण्डले आपत्ति जनाएका हुन् ।

‘यतिबेला पत्र सार्वजनिक गराउनुपर्ने के आइपर्‍यो तपाईलाई ?’, देउवालाई प्रचण्डले प्रश्न गरेका छन् देउवा र प्रचण्डबीच ‘नोकझोक’ नै भएको बालुवाटार स्रोतको भनाई छ ।

प्रचण्डले एमसीसीका कारण गठबन्धनमा समस्या आउनसक्ने चेतावनीसमेत दिएका छन् । देउवाले संसदबाट एमसीसी अनुमोदन गराउन दबाब बढेको पनि बताएका छन् । प्रचण्डले पत्र सार्वजनिक हुनुका पछाडि राजनीतिक षड्यन्त्रको संकेत पाएको भन्दै यहीकारणले गठबन्धनमा ध्रुवीकरण बढ्नसक्ने चेतावनी दिएको बालुवाटार स्रोतको भनाई छ ।

प्रधानमन्त्री देउवाले पनि जेठ ५ अगाडि नै स्थानीय निर्वाचन गर्ने र त्यसअघि नै एमसीसी पारित गर्ने आफ्नो स्पष्ट अडान सुनाएका छन् । ‘एमसीसी पास गरेर स्थानीय चुनाव गर्ने हो । यसमा तपाईको डिसिजन दिनुस’, देउवाले दाहाललाई भनेका छन् ।