६ चैत्र २०८०, मंगलवार

चार महिनाअघि नै एमसीसी पारित गर्न देउवा र प्रचण्डबीच सहमति भएको खुलासा

deuba prachanda
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अमेरिकी सहयोग सम्झौता (एमसीसी) संसदबाट पारित गराउन चार महिना पहिले नै सहमति भएको खुलासा भएको छ ।

सहमतिअनुसार नै प्रधानमन्त्री देउवा र प्रचण्डले मिलेनियम च्यालेञ्ज कर्पोरेशनलाई संयुक्त हस्ताक्षरसहितको प्रतिबद्धता पत्र पठाउनु भएको थियो ।

अमेरिकाले एमसीसी परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा दिएको छ । एमसीसीले पठाएको पत्र सरकारले गोप्य राख्ने प्रयास गरेको थियो ।

सत्ता गठबन्धनका दलहरूबीच पनि पत्र सार्वजनिक गरिएको छैन । पत्र सार्वजनिक भएसँगै फागुन १६ गतेभित्रै एमसीसी पारित गराउन सरकारमाथि दबाब बढेको छ ।

एमसीसी कार्यान्वयनको विषयमा सत्ता गठबन्धनभित्र तीव्र मतभेद भइरहेका बेला अमेरिकाले एमसीसी संसदबाट अनुमोदन गरिसक्न पत्राचार गरेको हो ।

गएको कात्तिकमा जलवायु सम्बन्धी ग्लास्गो सम्मेलनबाट फर्कने क्रममा प्रधानमन्त्री देउवाले एमसीसीबारे आफू र प्रचण्डले संयुक्त पत्र पठाएको बताउनु भएको थियो । तर त्यसको व्यहोरा उनले सार्वजनिक भएको थिएन ।

अहिले एमसीए नेपालमार्फत सार्वजनिक पत्रमा एमसीसी पारित गर्न ५ महिनाको समय मागिएको छ ।