१५ चैत्र २०८०, बिहीबार

निलम्बनमा पर्नुदेखि खेलाडी र क्यान पदाधिकारीको तिक्ततापूर्ण सम्बन्ध: विश्वकप खेल्ने लक्ष्यसहित टोली प्रशिक्षणमा

cricet team

दोस्रो पटक आईसिसी ट्वेन्टी ट्वेन्टी विश्वकप खेल्ने लक्ष्य सहित नेपाली क्रिकेट टोली बन्द प्रशिक्षणमा छ । अर्को महिनादेखि हुने आईसिसी ट्वेन्टी ट्वेन्टी विश्वकप ग्लोबल छनोट ए पार गर्दै नेपाल फेरि एक पटक विश्वकप खेल्ने योजनामा छ ।

तर ८ वर्षपछि विश्व क्रिकेटको मैदानमा फर्किने अठोट लिएको टोलीका सामु समस्याग्रस्त घरेलु परिस्थितिबाट निस्किँदै बलिया प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने चुनौती छ ।

अर्को महिनादेखि ओमानमा हुने आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप ग्लोबल छनोट ए को तयारीमा यतिबेला राष्ट्रिय टोली व्यस्त छ । ८ वर्षपछि विश्वकपमा फर्किने लक्ष्य लिएर खेलाडीहरु त्रिवि क्रिकेट मैदानमा दैनिक कडा परिश्रम गरिरहेका छन् ।

प्रशिक्षक पुबुद दासानायकेले सन्दीप लामिछानेको कप्तानीमा १६ जना खेलाडीलाई अन्तिम टोलीमा समावेश गरेपनि टोली बाहिर रहेका बिनोद भण्डारी, गुल्सन झा, सुशन भारि, पवन सर्राफ, बिक्रम सोब अभ्यासमा सामेल छन् ।

नेपालका लागि पहिलो र अहिलेसम्मका लागि एक मात्र विश्वकप सहभागिता सन् २०१४ मा बंगलादेशमा भएको ट्वेन्टी ट्वेन्टी विश्वकप नै हो । त्यसयता, नेपाल क्रिकेट संघ (क्यान) आईसिसीको निलम्बनमा पर्नुदेखि खेलाडी र क्यान पदाधिकारीको तिक्ततापूर्ण सम्बन्ध लगायतबाट नेपाली क्रिकेट गुज्रिरहँदा फेरि त्यसस्तरको सफलता नेपालले पाउन सकेको छैन । तर यस पटक भने नेपाल त्यो अवसर सदुपयोग गर्ने लक्ष्यमा छ ।

यसका लागि प्रशिक्षकले खेलाडीहरुलाई प्राविधिक पक्षमा समेत तयारी गराइरहेका छन् । ब्याटरहरुलाई खेलको परिस्थिति र विपक्षी बलर अनुसार फरक फरक सट खेल्नेदेखि बलरहरुलाई स्पटिंग अभ्यास गराइरहेका छन् । क्रिकेटको ब्याटिङ, बलिङ र फिल्डिङका लागि समेत फरक फरक कन्सल्ट्यान्टहरु राखिएको छ । ब्याटिङ तयारीका लागि भारतबाट २ जना फास्ट बलर र फिल्डिङ कन्सल्टेन्ट रघु राम श्रीनिवास अहिले टोलीसँगै काम गरिरहेका छन् । श्रीलंकंन टोलीका पूर्व खेलाडी तीव्र गतिका बलर धम्मिका प्रसादलाई बलिङ कन्सल्टेन्टको रुपमा नियुक्त गरिएको छ ।

नेपाललाई पहिलो विश्वकप खेलाएका प्रशिक्षक पुबुदु सामु विगतमा जस्तै यस पटक पनि नेपाललाई विश्वकपमा पुर्याउनु पर्ने जिम्मेवारी छ । तर यो ८ वर्षको बिचमा विश्व क्रिकेट र नेपाली टोलीमा समेत व्यापक परिवर्तन भईसकेको छ । प्रतिद्वन्द्वी राष्ट्रहरुले आफ्नो स्तरवृद्धिमा सफलता पाइरहँदा नेपालले भने पछिल्लो पटक आन्तरिक विवादमै रुमलिरहनु परेको छ । यद्यपि हालका लागि विवाद समाधान भएपनि यसले टोलीको प्रदर्शनमा असर पार्न सक्ने चिन्ता पनि छ ।

विश्वकप छनोटअघि नेपालले अभ्यास स्वरूप आयरल्याण्ड, ओमान र युएईसँग ट्वेन्टी ट्वेन्टी सिरिज खेल्ने तालिका समेत छ । ओमानमै हुने सिरिजलाई हरेक कोणबाट प्रयोग गर्ने तयारी गरिएको छ जसले विश्वकप छनोटमा प्रदर्शन सुधारको मौका समेत दिनेछ । सिरिज लगतै हुने छनोट प्रतियोगितामा नेपालले फागुन ६ गते घरेलु टोली ओमानसंसँग खेल्दै विश्वकप छनोट यात्रा थालनी गर्नेछ ।

ग्लोबल छनोट ए मा नेपालसहित घरेलु टोली ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि आठ टोली छन् । समुह ए मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स छन् भने समुह बी मा आयरल्यान्ड, युएई, बहराइन र जर्मनी छन् । फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने छन् ।

विश्वकप खेल्ने अवसरका लागि नेपालले फाइनलसम्मको यात्रा तय गर्नुपर्ने हुन्छ । तर पछिल्लो पटकस्तरीय क्रिकेट खेलिरहेको ओमान, क्यानडा जस्ता राष्ट्रको चुनौती नेपालका लागि सहज भने हुने छैन । प्रशिक्षक पुबुदुकै भनाईलाई मान्ने हो भने समुह चरणमा नेपाललाई कुनै पनि खेलमा गल्ती गर्ने छुट हुनेछैन ।

केही महिना अघि मात्र ट्वेन्टी ट्वेन्टी विश्वकप खेलेको ओमान र विश्वकप छनोट जस्ता प्रतियोगितामा राम्रो खेल्दै आएको क्यानडा पनि नेपालमाथि हावी हुन सक्छन् । समूह चरण पार गरेमा अर्को समूहबाट सेमिफाइनलमा आउन सक्ने बलिया टोली आयरल्यान्ड वा युएई चुनौती बन्न सक्नेछन् ।

युएई नेपालकै स्तरको भएपनि हालसालै विश्वकप खेल्दै छोटो फरम्याटको क्रिकेटमा बलियो मानिएको वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसिय सिरिज जितेको आयरल्यान्डलाई कमजोर आँक्न सकिन्न ।