१२ बैशाख २०८१, बुधबार

चाँडोभन्दा चाँडो स्थानीय तहको निर्वाचन घोषणा गर्न आग्रह

Ishor pokhrel

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचन चाँडोभन्दा चाँडो घोषणा गर्न माग गर्नुभएको छ ।

प्रेस चौतारी नेपालको २४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले सरकारले निर्धारित समयमा स्थानीय तहको निर्वाचन घोषणा नगरे आन्दोलन गर्ने समेत बताउनुभयो ।

“स्थानीय तहको निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए”, उहाँले भन्नुभयो, “पत्रकारले पनि समयमा नै स्थानीय तहको निर्वाचन गर्ने दिशामा कमल चलाउनुपर्दछ ।” उहाँले मुलुकलाई आर्थिक, विकास र समृद्धि तिर लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टीले विद्यार्थी, युवा र महिला बाहेक सबै जनवर्गीय सङ्गठनको महाधिवेशन गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँले ठूलो सङ्गठन संरचना नभई चुस्त दुरुस्त बनाइने बताउनुभयो ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सरकारले संविधानको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारले अझै पनि समयमा नै तलब नपाउनु परेको पीडा रहेको उल्लेख गर्दै त्यस्ता आम सञ्चारमाध्यममा खबरदारी गर्नुपर्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता पेसा नै धरमरमा रहेकाले सबै मिलेर जोगाउनुपर्ने बताउनुभयो । उहाँले नाम मात्रका पत्रकार तर अर्कै व्यवसाय गर्ने धेरै नै रहेकाले नेपाल पत्रकार महासङ्घले छानबिन गर्नुपर्ने बताउनुभयो ।

पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले अझै पनि पत्रकारले समयमा नै तलब नपाएको बताउनुभयो । उहाँले महासङ्घ निरन्तर पत्रकारको हकहितका लागि काम गरिरहेको बताउनुभयो ।

महासङ्घका पूर्व अध्यक्ष महेन्द्र विष्टले पत्रकारलाई अहिले पनि काम गरेको तलब पाउनका लागि समस्या भइरहेको बताउनुभयो ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले प्रेस स्वतन्त्रताको रक्षाका लागि चौतारीले सधैँ खबरदारी गर्ने बताउनुभयो । उहाँले पत्रकारले अहिले पनि श्रमजीवी पत्रकार ऐनअनुसार तलब नपाएकाले सरकारले तुरुन्तै ऐनअनुसार तलब उपलब्ध गराउनुपर्ने बताउनुभयो । रासस