
रूसका राष्ट्रपति भ्लादिमिर पुटिन २४ औँ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन शुक्रबार बेइजिङ पुगेका छन्।
त्यहाँ उनले चीनका राष्ट्रपति शी चिनफिङसँग भेटवार्ता गरेका छन्। यस क्रममा उनले ताइवानलाई चीनको अभिन्न अंग भएको बताएका छन्।
साथै ताइवानले स्वतन्त्र राष्ट्रका रुपमा गरिरहेको दाबीलाई पनि रुसले अस्वीकार गरिदिएको छ।
भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा रूसले ‘एक चीन नीति’ को सिद्धान्तलाई समर्थन गर्ने उल्लेख छ।
त्यसको जवाफमा चीनले पनि युक्रेनको सवालमा अमेरिकासँग चलिरहेको तनावमा रूसको समर्थन गरेको छ।
विश्वका दुई महाशक्तिको यो मिलनले ताइवान र युक्रेनको संकट अझै गहिरिने आशंका गरिएको छ।
५३ सय शब्दको संयुक्त वक्तव्यमा रूस र चीनले एक अर्काको हितको रक्षाका लागि सहयोगको कुरा पनि गरेका छन्। जसमा उनीहरुको सम्प्रभुता, क्षेत्रीय अखण्डता र घरेलु मामिलामा कुनै पनि अन्य देशको हस्तक्षेप स्वीकार नगर्ने सामेल छन्।
यस क्रममा चीनले अमेरिकामाथि हङकङमा हिंसा भड्काएको पनि आरोप लगाएको छ। साथै ताइवानको स्वतन्त्रताको मुद्दामा अनावश्यक उचाल्ने काम गरिरहेको पनि चीनले आरोप लगाएको छ। रूसले पनि अमेरिकाले युक्रेनमा संकट बढाइरहेको जनाएको छ।
पुटिन पछिल्ला दिन युक्रेनलाई नेटोमा सहभागी गराउने कदमको विरोधमा उत्रिएर अमेरिकासमेत त्यस समूहका सबै देशसँग जुधिरहेको छ। पश्चिमी देश यस संकटलाई सुल्झाउने राजनीतिक प्रयास गरिरहेका छन्। यस्तोमा चिनफिङले उनको एक रणनीतिअनुसार रुसी राष्ट्रपतिसँग संवाद गरेका छन्।
पछिल्ला दुई वर्षमा पहिलो पटक चिनियाँ राष्ट्रपतिले कुनै पनि देशका राष्ट्रपतिलाई भेटेका हुन्। यो भेटले रूस र चीनको सम्बन्धन अझै बलियो हुने आँकलन गरिएको छ। दुवै नेताले भेटपछि निकालेको वक्तव्यमा नेटो आवद्ध देशहरु शीतयुद्धकालको रणनीतिक बाटोमा छाड्न लागेका उल्लेख छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रूस दुवै देशको सम्बन्धलाई लिएर संघर्ष गरिरहेका छन्। यी दुई देश मिलेपछि बाइडेनको तनाव पनि बढिरहेको छ।
पुटिनले युक्रेन सीमामा एक लाख सैनिक तैनाथ गरेका छन्। अमेरिकाले रूसको उद्धेश्य युक्रेनमाथि आक्रमण गर्ने रहेको आशंका गरेको छ।
उता रुसले अमेरिका पूर्वी युरोपमा आफ्नो सैन्य टुकडी तैनाथ गरेर आक्रमणको खतरा र तनाव अझै बढाइरहेको आरोप लगाइरहेको छ।
यस हप्ताको सुरुमा पुटिनले अमेरिका पछिल्लो समय रुसलाई युद्धका लागि उकासिरहेको बताएका थिए। साथै पश्चिमी देशहरु रुसले मागेको सुरक्षा ग्यारेन्टी दिन पनि चुकिरहेको उनले बताएका थिए।