१३ बैशाख २०८१, बिहीबार

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको निधन, २५२६ सङ्क्रमण पुष्टि

corona insurance

कोरोना संक्रमबाट नेपालमा थप १६ जनाको निधन भएको छ । पछिल्लो समय संक्रमण दर घट्दै गएपछि निधन हुनेको संख्या भने बढ्दै गएको छ ।

पछिल्लो पटक २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ७३ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज १६ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ । पछिल्लो पटक ८ हजार ४ सय २५ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८ लाख ९५ हजार ८ सय ६८ पुगेको छ । हाल देशभर ५६ हजार ४ सय ५७ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५५ हजार ९० होम आइसोलेसनमा र १ हजार ३ सय ६७ संस्थागत आइसोलेसनमा रहेका छन् ।

२ सय ४३ को आइसीयूमा र ५१ को भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म ३ करोड ३२ लाख ३७ हजार ८ सय ९० मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

जसमा पहिलो मात्रा मात्र लगाउनेको संख्या १ करोड ७४ लाख ९५ हजार ४ सय ९४ रहेको छ भने पूर्ण मात्रा लगाउनेको संख्या १ करोड ५१ लाख ८३ हजार ४ सय ४६ छ । यस्तै ५ लाख ५८ हजार ९ सय ५० जनाले बुस्टर डोज लगाएका छन् ।