१५ चैत्र २०८०, बिहीबार

शान्ति सुरक्षा खलबलिने खालका अभिव्यक्ति नदिन मन्त्री यादवलाई आयोगको आग्रह

renu yadav
फाइल फोटो

राष्ट्रिय मानवअधिकार आयोगले जिम्मेवार पदमा रहेका व्यक्तिहरूले अभिव्यक्ति दिँदा मानव अधिकारको मूल्य मान्यतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमनचैनलाई ख्याल गर्न आग्रह गरेको छ ।

आयोगमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई बोलाई सो आग्रह गरेको हो ।

आयोगले समाजमा शान्ति सुरक्षा खलबलिने खालका अभिव्यक्ति भविष्यमा नदिन मन्त्री यादवलाई आग्रह गरेको छ ।

मन्त्री यादवले आफूले श्रद्धाञ्जली सभामा अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगेको र भविष्यमा यस्ता अभिव्यक्ति नदोहोरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफूले दिएको अभिव्यक्ति असन्तुलित भए पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको, हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको बताउनुभयो ।

मन्त्री यादवले यही माघ ५ गते समाजवादी युवा सङ्घले रौतहटको गौरमा आयोजना गरेका सभामा दिएको अभिव्यक्तिलाई लिएर सर्वत्र विरोध भएको थियो ।

आयोगका अध्यक्ष तपबहादुर मगरले मन्त्री जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढवा दिने र सामाजिक सद्भावमा खलल पुर्‍याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति नदिन आग्रह गर्नुभयो ।

उहाँले राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्‍याउन मन्त्री यादवलाई निर्देशनसमेत दिनुभयो ।

अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भए पनि त्यो अनियन्त्रित र सीमाविहीन हुन नसक्ने, आफ्नो अधिकारको प्रयोग गर्दा अरूको मर्यादामा चोट पुग्न सक्नेतर्फ सचेत रहनुपर्ने आयोगका अध्यक्ष तथा सदस्यहरूको आग्रह थियो ।

HRCN 732x1024 1