२२ बैशाख २०८२, सोमबार

निर्वाचनको तयारीमा जुट्न एमालेको निर्देशन, प्रदेश अधिवेशन निर्वाचनपछि मात्रै गर्ने निर्णय

uml logo1628521956

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आफ्नो नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । एमालेको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति पश्चात बसेको एमालेको सचिवालय बैठकले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको एमाले स्राेतले दिएकाे छ।

बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि मात्रै गर्ने निर्णय गरेकाे छ । त्यस्तै, जिल्ला अधिवेशन भने निर्वाचनअघि नै गर्ने निर्णय गरेको छ ।

स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णयसमेत बैठकले गरेकाे छ ।

बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ । त्यस्तै, बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन पनि गरेकाे छ ।