१३ बैशाख २०८१, बिहीबार

अन्ततः ब्याजदर वृद्धिले मूल्य वृद्धि थप बढ्ने निश्चित

lone

आधार दर बढेपछि बैंकहरुले कर्जाको ब्याजदर बढाएका छन् । अधिकांश बैंकको कर्जाको ब्याजदर दोरोहो अंकमा पुगेको छ ।

कोरोनाले अधिकांश उद्योग व्यवसाय प्रभावित भएको बेला अस्वभाविक र अनियन्त्रित ढंगले ब्याजदर बढ्दा नयाँ लगानी र ऋण लिएका उद्योग व्यवसाय संचालन गरिरहेकाहरुलाई निकै समस्या परेको छ । योसँगै कर्जाको ब्याजदर वृद्धिले हालसम्मकै उच्च विन्दु ७ दशमलव ११ प्रतिशतमा रहेको मूल्य वृद्धि थप बढ्ने निश्चित छ ।

तरलता अभावले अहिले अधिकांश बैंकले कर्जा कसिलो पारेपछि ऋणीले माग गरेअनुसार ऋण पाइरहेका छैनन् । यहीबेला कर्जा ब्याजदर थप महँगो भएको हो ।

हरेक त्रैमासिक आधार दरमा रहेर बैंकले पुराना ऋणीको ब्याजदरसमेत घटबढ गर्न पाउने नीतिगत व्यवस्था छ। बैंकहरूले तयार पारेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार औसत आधार दरमा रहेको ब्याजदरमा थप प्रिमियम जोडेर ब्याजदर लागू भएको छ।

पुसमा लिएको कर्जाको ब्याजदरमा ऋणीलाई थप १ देखि डेढ प्रतिशतसम्मको ब्याज भार थपिएको छ । व्यवसायीले लिने कर्जाको ब्याज बढ्दा उनीहरूको लागत पनि बढ्न जान्छ। अन्ततः यसको मारमा सर्वसाधारण पर्छन्।

पछिल्ला महिनामा बैंकहरुको आधार दर बढ्दै गएको छ । समग्र वाणिज्य बैंकको आधार दर वार्षिक औसत १ दशमलव २१ प्रतिशत विन्दुले बढेर ८ दशमलव ४० प्रतिशत पुगेको छ। बैंकहरुले आधार दरमा २ देखि ४ प्रतिशतसम्म प्रिमियम जोडेर ऋणीका लागि ब्याजदर तोकिदिने गर्छन् ।

यसआधारमा अब अधिकांश बैंकहरुले कर्जामा ११ प्रतिशतभन्दा बढी ब्याज लिने छन् । यसले कोरोना प्रभावित उद्योगी व्यवसायीहरु थप मर्कामा पर्ने देखिन्छ ।

दोस्रो त्रैमासिक विवरण अनुसार सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६ दशमलव ६० प्रतिशत छ भने सबैभन्दा बढी सिभिल बैंकको ९ दशमलव ७४ प्रतिशत छ । कम आधार दर रहेको बैंकबाट कर्जा लिँदा कम व्याज र बढी आधार दर भएको बैंकबाट कर्जा लिँदा बढी ब्याज पर्ने हुन्छ । अहिले सबैं बैंकको आधार दर बढेकाले पुराना तथा नयाँ ऋणीलाई ब्याजदर महँगो पर्न गएको छ ।