८ जेष्ठ २०८१, मंगलवार

नक्कली डाक्टर बनेर काठमाडौँदेखि झापासम्म ! दुईजना पक्राउ

hathkadi web

डाक्टरको नक्कली परिचयपत्र बनाएर कार चढेर काठमाडौँबाट झापा आइपुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आफू डाक्टर भएको भन्दै लागु औषध कारोबारी लकडाउनमा काठमाडौँबाट झापाको काँकडभिट्टा आइपुगेका छन्।

उनीहरु दुवै जनालाई लकडाउन उल्लंघन गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको प्रहरी जिल्ला कार्यालय झापाले जनाएको छ। पक्राउ पर्नेमा ललितपुर बस्ने ३३ वर्षीय दिलकुमार श्रेष्ठ र काठमाडौं बस्ने २८ वर्षीय गणेश अधिकारी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले शंका लागेर सोधपुछ गर्दा डाक्टरको नक्कली परिचयपत्र भिरेर लागू पदार्थ किन्न आएको बुझिएको थियो । डीएसपी पोख्रेलले भने, ‘शंका लागेर सोधपुछका लागि रोक्यौँ। सोधपुछकै क्रममा उनीहरु लागुऔषध कारोबार गर्ने रहेछन् भन्ने पत्ता लाग्यो।’

पोख्रेलका अनुसार उक्त कुरा उनीहरु सवार गाडी खानतलासी गर्दा १ लाख २५ हजार नगद, ब्राउन सुगर सेवनमा प्रयोग हुने नोट, ब्लेड र सिक्कासमेत फेला पारेपछि उनीहरु लागुऔषधको कारोबार गर्ने रहेछन् भन्ने खुलेको हो।

उनले भने, ‘यस बारेमा थप अनुसन्धान भइरहेको छ।’ उनले धरानमा समेत एक दिन बसेर आएका दुवै जनालाई तत्कालका लागि अस्थायी क्वारेन्टाइनमा पठाइसकेको बताए। अहिलेसम्म इलाका प्रहरी कार्यालय काँकडभिट्टा लकडाउन उल्लंघन गरेको आरोपमा २४ जना व्यक्ति र एक दर्जन सवारी साधन नियन्त्रणमा लिइसकेको छ।