७ बैशाख २०८१, शुक्रबार

सलमान खानको बिइङ ह्युमन ब्राण्डको नाममा नेपालमा अवैध कारोबार भैरहेको खुलासा

58924787

बलिउड अभिनेता सलमान खानको क्लोथिङ ब्राण्ड बिइङ ह्युमनको नाममा नेपालमा अवैध कारोबार भैरहेको खुलासा भएको छ ।

बिइङ ह्युमनको नेपालस्थित प्रमुख सञ्चालक र म्यानेजर नै पक्राउ परेपछि सलमान खानको ब्राण्डको आवरणमा राजश्व छली लगायतका अवैध धन्दा हुने गरेको खुलेको हो ।

यसबैबीच दरबारमार्गमा रहेको क्लोदिङ स्टोर बिइङ ह्युमनका संचालक सन्तोषचन्द्र बख्रेलले काठमाडौंको खुशीबुमा भारतबाट राजस्व छली गरेर ल्याइएका सामान प्रहरीले बरामद गरेको छ ।

केही समयअघि राजश्व छलेर रक्सी नेपाल भित्र्याएको प्रकरणमा पक्राउ परेका दरबारमार्गमा रहेको क्लोदिङ स्टोर बिइङ ह्युमनका संचालक सन्तोष चन्द्र बख्रेलले ल्याएको खुलासा भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार बख्रेलले नयाँ बजार खुसिबुँमा घर नै भाडामा लिएर सुर्तीजन्य सामाग्रीदेखि कस्मेटिक्स समेत स्टोर गरेको अवस्थामा फेला पारेको छ ।

प्रहरीले घरमा भण्डार गरी राखेको सुर्तीजन्य पदार्थ, कस्मेटिक्स आदि सबै गरी ५० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

सुर्तीको धुलो २५ सय किलो, सुपर पावर सुर्तीको खोल रहेको २९ वटा बोरा, डोब स्याम्पु र साबुनको ९७ वटा कार्टुन, विभिन्न चुरोट र ३० पिस लेडिज कुर्ता समेत भेटिएको उहाँले बताउनुभयो । थप अनुसन्धानका लागि महाशाखाले सामानसहित पक्राउ परेका व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालय पठाएको छ।

पर्सा स्थायी घर भएका ३९ वर्षीय बख्रेल लागु औषधको कारोबारमा संलग्न भएर प्रहरीले खोजी गरेका व्यक्ति समेत भएको खुलेको थियो। सुत्केरी हुँदा प्रयोग हुने निषेधित औषधी ट्रामाडोल कारोबारमा उनको संलग्नता खुलेको प्रहरीले जनाएको छ । उनी बिइङ ह्युमन नेपालको हालका संचालक समेत हुन् ।

बिइङ ह्युमन बलिउड स्टार सलमान खानको कम्पनीले सञ्चालन ल्याएको क्लोदिङ स्टोर हो । गत मंसिरमा बिइङ ह्युमनका म्यानेजर पनि स्रोत नखुलेको भारतीय मुद्रासहित पक्राउ परेका थिए।

बख्रेल पक्राउ परेपछि खुल्दै आएको अपराधले बिइङ ह्युमन पनि अनुसन्धानमा तानिएको छ।

गत शुक्रवार प्रहरीले छापा मार्दा २ सय ९५ कार्टुनमा विभिन्न चलेका ब्रान्डका नक्कली रक्सी बरामद भएको थियो। भारतबाट राजश्व नतिरी ल्याइएको नक्कली रक्सी बिहे लगायतका पार्टीहरुमा सप्लाइ हुँदै आएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।

उनीसँगै पक्राउ पर्नेहरुमा ३० वर्षीय शैलेश पन्त, २८ वर्षीय रविन पाख्रिन, ३८ वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन्। रवि भन्ने भारतीय नागरिक र सन्तोष चन्द्रको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिरा बिक्री वितरण गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

सन्तोषले बजारमा बिक्री वितरण गर्न इन्फिनिटी लिकर, मुलपानीका संचालक शैलेश पन्तसँग मिलेर कारोबार गरेको देखिएको प्रहरीको भनाइ छ।

    सम्बन्धित समाचार...