१३ बैशाख २०८१, बिहीबार

शिष्टाचार भेट: ऊर्जामन्त्री भुसालसँग अष्ट्रेलियन राजदूतको

r 1024x680 1

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जान भोल्क बीच शिष्टाचार भेट भएको छ ।

ऊर्जा तथा जलस्रोत मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो ।

सो अवसरमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्त्व दिएको बताउँदै सन् १९६० देखिको द्विपक्षीय घनिष्ठ, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले विश्वले सामना गरिरहेको महामारी र जलवायु परिवर्तनको चुनौती बढ्दै गएकाले आपसी सहकार्य पहिलेभन्दा अझ बढी आवश्यक रहेको समेत बताउनुभयो ।

नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्दै मन्त्री भुसालले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

राजदूत भोल्कले नेपालको आर्थिक तथा मानवीय क्षमता अभिवृद्धिका लागि अष्ट्रेलियन सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

जलस्रोत र नवीकरणीय ऊर्जा प्रवर्द्धनमा पनि सहयोग गर्न इच्छुक रहेको उल्लेख गर्दै राजदूत भोल्कले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न र जलस्रोतका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहेको समेत बताउनुभयो ।

उहाँले जल तथा ऊर्जा आयोगको सचिवालयसँग सहकार्य गरी कमला बेसिनमा काम गरिरहेको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाएर अगाडि बढाउने पनि बताउनुभयो ।

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अष्ट्रेलियनको कमनवेल्थ साइन्टिफीक एन्ड इन्डस्ट्रीयल रिसर्च अर्गनाइजेसन (CSIRO) बीच सन् २०१७ मा समझदारी भएको थियो ।

सो सम्झौता अनुसार CSIRO र जल तथा ऊर्जा आयोगको सचिवालयको साझेदारीमा कमला बेसिनको अवस्थाबारे अध्ययन गरी तयार गरिएको रणनीति कार्यान्वयनमा छ ।