१३ बैशाख २०८१, बिहीबार

दुईपटक विघटित संसद् विगत एक वर्षदेखि गतिहीन, आ-आफ्नो स्वार्थको कारण दलहरूबीच सहमति जुट्नै सकस

house

दुईपटक विघटित संसद् सर्वोच्च अदालतले ब्युँताइदिए पनि त्यसका गतिविधि राम्रोसँग सञ्चालित हुन सकिरहेका छैनन् । सरकारको अक्षमता र प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बेकम्मा जस्तो बन्न गएको छ ।

जनताको प्रतिनिधित्व गर्ने मुलुकको सर्वोच्च निकाय संसद्लाई सुचारु गराउने काममा न त सत्तारूढ गठबन्धनले प्रतिपक्षलाई विश्वास लिन सकेको देखिन्छ न त प्रतिपक्ष नै जिम्मेवार ढंगले प्रस्तुत भएको छ ।

आ–आफ्ना स्वार्थका दाउमा विगत एक वर्षदेखि संसद् गतिहीन बन्न पुगेको छ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शनिबार बेलुका आकस्मिक रूपमा स्थगित गरियो ।

आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको छ । कोरोना महामारी संक्रमणको जोखिम यथावत रहेको बहानामा बैठक १० दिनपछि धकेलिएको भनिए पनि भित्री रहस्य भने अर्कै भएको पाइएको छ ।

शनिबार साँझको सत्तारूढ गठबन्धनको बैठक र त्यहाँ भएको छलफलपछि बैठक स्थगित गरेको गठबन्धनका नेताहरूले बताएका छन् । शनिबारको बैठकमा सहभागी एक नेताका अनुसार एमसिसी सम्झौतालाई पारित गरेर जानुपर्ने प्रधानमन्त्री देउवाको मनशायलाई रोक्नका लागि प्रतिनिधिसभालाई स्थगित गरिएको हो ।

शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकमा एमसिसी सम्झौता अनुमोदनको विषयमा छलफल भएको थियो ।

नेताहरूका अनुसार प्रधानमन्त्री देउवाले एमसिसी सम्झौता अनुमोदन गर्नुपर्ने समय घर्किन लागेको बताउनुभएको थियो । उहाँका अनुसार माघ १८ गते अर्थात् मंगलबारसम्म अनुमोदन गरिसक्नुपर्ने अल्टिमेटम अमेरिकाले दिएको भन्दै गठबन्धनका दलहरूको सहयोग माग्नुभएको थियो ।

सोही विषयमा मत नमिल्दा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सभामुखमार्फत संसद् बैठक नै स्थगित गर्न लगाएको बुझिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालले १० दिन जति पर्खिन प्रधानमन्त्री देउवासँग समय मागेका कारण बैठक स्थगित भएको बताइएको छ ।

स्रोतका अनुसार राष्ट्रको हितविपरीत एमसिसी पारित गराउन सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको सैद्धान्तिक सहमति बनिसकेको छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमसिसीका कारण प्रतिनिधिसभाको बैठक सार्न लगाइएको स्वीकार गर्नुहुन्छ ।

खनालले भन्नुभयो, ‘माघ १८ भित्र एमसिसी पास नगरे फिर्ता लैजाने चेतावनी अमेरिकाले दिएको छ भन्ने कुरा प्रधानमन्त्रीले अवगत गराउनुभएको थियो । सोही कारण अहिले संसद् बैठक स्थगित गर्दा त्यो अल्टिमेटम सकिने भएकाले प्रतिनिधिसभा बैठकलाई केही पर धकेलिएको हो ।’

सम्झौतामा आपत्तिजनक कुराहरू भएकाले आफूहरू संशोधनबिना एमसिसी सम्झौता अनुमोदन गर्न नहुने पक्षमा दृढ रहेको पनि खनालले बताउनुभयो ।

गत पुस ४ गते वरिष्ठ नेता खनालकै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनले एमसिसीबारे समान धारणा बनाउन अध्ययन समिति बनाएको थियो । तर, समितिले हालसम्म कुनै धारणा बनाएको छैन ।

अध्ययन समिति गठन गर्ने दिन गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले संसद्को चालु अधिवेशनबाट एमसिसी पेश गर्ने प्रस्ताव राख्नुभएको थियो ।

तर, सत्ता साझेदार दलहरूले एमसिसी यथास्थितिमा अगाडि बढाउन नहुने भन्दै प्रश्न उठाएपछि गठबन्धनले समान धारणा बनाउन भन्दै समिति गठन गरेको हो ।

तर, गठन भएको डेढ महिनासम्म खनाल नेतृत्वको अध्ययन समितिले समान धारणा तय गर्न सकेको छैन । सम्मानित नेता खनाल नेतृत्वको अध्ययन समितिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य हुनुहुन्छ ।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोध गत भदौदेखि कायम छ । तत्कालीन एमाले (हाल नेकपा एकीकृत समाजवादी) सांसदलाई गरेको कारबाही सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गर्नुपर्ने नभए राजीनामा दिनुपर्ने माग संसद्को सबैभन्दा ठूलो दल एमालेको छ ।

एमालेले उठाएको विषय सर्वोच्चमा विचाराधीन रहेकाले संसद्मा छलफलको विषय बन्न नसक्ने सभामुख सापकोटाले बताउँदै आउनुभएको छ । तर, एमाले आफ्नो मागबाट टसमस भएको छैन ।

संसद् अवरोधका कारण प्रतिनिधिसभामा ४० भन्दा बढी विधेयक अघि बढ्न सकेका छैनन् । राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाले टुंग्याउनुपर्ने विधेयकको छलफलसमेत भएको छैन । 

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजे बस्ने भनिएको संघीय संसद् राष्ट्रियसभाको बैठक स्थगित भएको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।

विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकिएको भन्दै उहाँले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताउनुभयो ।

‘मिति २०७८ साल माघ १७ गतेत सोमबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली‚ २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा भनिएको छ ।

यसअघि माघ ३ गतेको बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने भएपछि स्थगित गरिएको सूचना जारी गरिएको थियो ।