६ बैशाख २०८१, बिहीबार

रित्तिन थाले गाउँ, सहरमा जनसङ्ख्याको चाप

janagadana 1024x682 1

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्कअनुसार गाउँ रित्तिँदै र सहर भरिँदै गएका छन् । कुल जनसङ्ख्याको दुई तिहाइ जनसङ्ख्या सहरमा केन्द्रित भएका छन् भने एक तिहाइ मात्र गाउँमा छन् ।

नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई सहरी र गाउँपालिकाको क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा २०७८ सालको कुल जनसङ्ख्यामा सहरी जनसङ्ख्या ६६.०८ प्रतिशत छ । ग्रामीण जनसङ्ख्या ३३.९२ प्रतिशत छ ।

राष्ट्रिय जनगणना २०६८ मा कुल जनसङ्ख्याको १७.०७ प्रतिशत सहरी जनसङ्ख्या र ८२.९३ प्रतिशत ग्रामीण जनसङ्ख्या रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीका अनुसार जनगणनाको तथ्याङ्कका आधारमा कुल जनसङ्ख्याको दुई तिहाइ जनसङ्ख्या सहरमा र एक तिहाइ मात्र गाउँमा देखिएको छ ।

उहाँका अनुसार नेपालमा क्रमिक रूपमा सहरको सङ्ख्या बढ्दै गएको र व्यक्ति स्वाभाविक रूपमा सुविधाभोगी भएकाले गाउँभन्दा सहरमा बसाइँ सर्ने क्रम पनि बढेको हो ।

गाउँमै सहरकै सुविधा उपलब्ध गराएर थातथलोमा नै नागरिकलाई बस्ने वातावरण तयार पारिदिने हो भने सहरी जनसङ्ख्यामा कमी आउँदै जान्छ ।

सहरमा जनसङ्ख्या धेरै हुनु सभ्यताको प्रतीक पनि भएको डा. रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “विपन्न मुलुकको कोटीबाट विकासोन्मुख मुलुकमा प्रवेश गर्न पनि गाउँमा भन्दा सहरमा जनसङ्ख्या धेरै हुुनपर्छ यो सकारात्मक हो ।

” नेपालमा गाउँपालिकाको सङ्ख्या ४६० र महानगर, उपमहानगर र नगरपालिकाको सङ्ख्या २९३ रहेका छन् । सबैभन्दा धेरै जनसङ्ख्या भएका सहरमा काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका छन् ।

सबैभन्दा धेरै जनसङ्ख्या भएको काठमाडौँ महानगरपालिकामा आठ लाख, ६५ हजार ९०६ र सबैभन्दा कम जनसङ्ख्या भएको मानाङको नार्पाभूिम गाउँपालिकामा ४४२ जनसङ्ख्या रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक एवं समाजशास्त्री सुमन्त घिमिरेले जनगणना २०७८ को तथ्याङ्कले सहरमा जनघनत्व बढ्दै जाँदा सहरमा विविध प्रकृतिका चुनौती थपिने बताउनुभयो ।

सहरमा जनसङ्ख्या धेरै भएसँगै सवारीसाधनको चाप बढ्ने, फोहोर व्यवस्थापनमा चुनौती थपिने, हरेक क्षेत्रमा बहुआयामिक प्रतिस्पर्धा हुने व्यक्ति खुला स्वभावको हुने बताउनुभयो ।

उहाँले भन्नुभयो “सहरमा धेरै अवसर हुने भएकाले सहरमा जनसङ्ख्याको चाप बढ्दै गएको हो । व्यवस्थित सहर निर्माण गर्न सरकारले सोहीअनुसार नीति र योजना बनाउनुपर्छ ।

” सरकारले गाउँ र सहरलाई सन्तुलित विकास गर्ने गरी नीति बनाउने हो भने पनि सहरमा जनघनत्वको चाप आफैँ कम भएर जान्छ ।

काठमाडौँ जिल्लामा सबैभन्दा धेरै पाँच हजार १०८ जना प्रति वर्ग किलोमिटर र मनाङ जिल्लामा सबैभन्दा कम तीन जना प्रतिवर्ग किलोमिटर जनघनत्व रहेको छ ।

जनघनत्वका आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौँ जिल्ला हुन् । त्यसैगरी मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा जनघनत्व १० जना प्रतिवर्ग किमीभन्दा कम रहेको तथ्याङ्क विभागले जनाएको छ ।  गोरखापत्र

    सम्बन्धित समाचार...