७ बैशाख २०८१, शुक्रबार

यसरी भएको थियो सहिद स्मारक ए डिभिजन लीग शीर्ष श्रेणीको प्रतियोगिता ए डिभिजन लीग

Martyr s Memorial Trophy

घरेलु फूटबलको शीर्ष श्रेणीको प्रतियोगिता हो, सहिद स्मारक ए डिभिजन लीग । विक्रम संवत् २०११ देखि हुँदै आएको लीगको अहिले ४४ औं संस्करण जारी छ ।

सुरुमा अन्य प्रतियोगिताको नाममा फूटबल प्रतियोगिता भएपनि प्रजातन्त्र प्राप्तीपछि पुलिस फोर्सले लगातार ३ पटक उपाधि जित्दै ट्रफी हात पार्‍यो । र प्रजातन्त्र प्राप्तिका लागि जीवन आहुती दिएका सम्पूर्ण सहिदको सम्झनामा पुलिस फोर्सबाट प्राप्त यो ट्रफी अहिले सहिद स्मारक ए डिभिजन लीग विजेतालाई दिइँदै आएको छ ।

इतिहासका विभिन्न कालखण्डमा राष्ट्रका लागि सहादत भएका थुप्रै सहिदको सम्झना गरिँदै आएको छ । विभिन्न राष्ट्रिय गौरवका पूर्वाधार र आयोजनाहरु सहिदको सम्झनामा नामकरण पनि भएका छन् ।

खेलकुद क्षेत्रमा हेर्ने हो भने देशकै एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला पनि सहिद दशरथ चन्दको नाममा छ भने प्रतिष्ठित फूटबल लीग पनि सहिदकै सम्मानमा नामकरण गरिएको छ ।

घरेलु फूटबलकै मेरुद्दण्डको रुपमा रहेको लीग संरचना इतिहासको पानासँगै थुप्रै परिवर्तन र परिमार्जन भए । विक्रम सम्बत २०११ सालदेखि सुरु भएको लीगको संस्थापकका रूपमा नरशमशेर जबरालाई लिइन्छ ।

राजपरिवारका सदस्य र राणा खानदानको सेरोफेरोबाट जनस्तरमा पुगेको नेपाली फूटबल २ हजार सालदेखि व्यवस्थित रुपमा संचालन भएको देखिन्छ । खेलाडी र दर्शकको आकर्षण बढेसँगै तात्कालीन प्रधानमन्त्री पद्यम शम्शेरले २००४ सालमा रामजानकी कप फूटबल प्रतियोगिता गराए ।

२००७ सालको प्रजातन्त्रपछि पुलिस फोर्सले लगातार तीन वर्ष उपाधि जित्दै कप पचायो । पछि २०११ सालमा पुलिस फोर्सले नै प्रतियोगिताको निरन्तरताका लागि सहिदको सम्झनामा एउटा ट्रफी तात्कालीन नेपाल फूटबल सङ्घलाई दिएको थियो, जुन अहिलेसम्म सहिद स्मारक नामले संचालन भइरहेको छ ।

२०११ असोज १७ गतेको मिति अंकित पुलिस फोर्सबाट पाएको ट्रफीमा, एकतन्त्रिय शासनको विरुद्धमा विक्रम सम्बत २००७ सालको जनमुक्ति संग्राममा प्राण बलिदान गर्ने अमर सहिदहरूका ‘चीरस्मृतार्थ श्री प्रगोदबा जीवी याकथुम्बा आइजीपी र नेपाल पुलिसका अफिसरहरूले चढाएको श्रद्धान्जली’, भनि उल्लेख गरिएको वाक्यले पनि यस लीग सहिदको सम्झनामा गरिएको हो भन्ने पुष्टि हुन्छ । जसलाई आज पर्यन्त पनि अखिल नेपाल फूटबल संघ (एन्फा)ले उच्च सम्मानका साथ निरन्तरता दिइरहेको छ ।

नेपाल फूटबल संघको आयोजनामा भएको लीगको पहिलो संस्करण महावीर एघारले जित्यो । पछि रानीपोखरी कर्नर टिम आरसीटीले २०२८ देखि ३० सम्म लगातार ३ पटक लिग जितेर त्यस सहिद स्मारक ट्रफी कब्जा गर्‍योऽ जुन हालसम्म पनि आरसीटीले शानका साथ सजाएर राखेको छ । अहिलेको ट्रफी भने नयाँ हो ।

एन्फा अस्तित्वमा आएपछि २०३० सालयता भने लीग नयाँ स्वरुपसहित अगाडि बढ्यो । प्रजातन्त्र पुनर्स्थापना अघि र पछि गरी नेपाली फूटबललाई मुख्यतः २ भागमा विभाजन गरिएको छ । प्रजातन्त्र पुनर्स्थापनापछि २०५२ मा पहिलो लीग भयो ।

यसबीचमा अहिले १६ औं लीग भइरहेको छ । टुंडिखेलको धुले मैदानदेखि दशरथ रंगाशालासम्म पुग्दा फरकफरक समयमा यसमा विभिन्न प्रयोगहरु पनि भए । तर सहिदको सम्मानमा न्वारन गरिएको लीगले भने अहिलेसम्म पनि सम्पूर्ण सहिदलाई उच्च सम्मान गरिरहेको छ ।