१६ चैत्र २०८०, शुक्रबार

श्रम मन्त्रालयमा कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्ष स्थापना

272050459 479036140264954 22653481903425218 n 1024x576 1

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाउनुभएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थापना गरेको कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्ष उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्य टोली तथा प्रहरीको समेत सहभागितामा मार्सल टोली गठन गरी दोषीलाई कारबाही गर्न सुरु गरिएको बताउनुभयो । 

मन्त्रालयका सचिव एकनारायण अर्यालले कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्षबाट वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव सङ्कलन गरी प्राथमिकताका साथ समाधान गरिने बताउनुभयो । 

यसअघि, पनि सञ्चालनमा रहेको कल सेन्टरलाई वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ गर्न एकीकृत कक्षका रुपमा व्यवस्थित गरी सुरु गरिएको हो ।

पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुकहरू, दक्षिणपुर्वी एसियाली मुलुकहरू, युरोपेली तथा अमेरिकी मुलुकहरू र अफ्रिकी महादेशका देशहरूमा गैर कानुनी रुपमा पुर्‍याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनी दिनहुँ गुनासो आउने गरेपछि मन्त्री श्रेष्ठको निर्देशनमा मन्त्रालयमै गुनासो सुनुवाइ कक्ष स्थापना गरिएको हो । 

272206887 440846437767873 4140261161900902492 n

अब कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव सङ्कलन गरी एकीकृत गरिनेछ । आएका समस्या तथा गुनासोहरूलाई प्राथमिकिकरण गरी समाधान गरिनेछ भने सेवाग्राहीलाई आफ्नो गुनासो सुनुवाइको अवस्थाबारे जानकारी समेत दिइनेछ । 

कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्षमा कस्ता खालका समस्या र गुनासो आउँछन् त्यसले सरकारलाई नीति निर्माणमा पनि सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

272830323 1358605784575698 5155023025822558629 n

 वैदेशिक रोजगारीका नाममा हुने कुनै प्रकारको रकम सङ्कलन, ठगी लगायतका क्रियाकलापमा संलग्न व्यक्ति, मेनपावर कम्पनी वा अन्य संस्था उपर वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानुनबमोजिम पक्राउ गर्ने, अनुसन्धान गर्ने र आवश्यक कारबाही अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।  

यससम्बन्धी समस्या तथा गुनासो मन्त्रीको सचिवालयको मोबाइल नम्बर : ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्बर ९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधै सम्पर्क गरी २४ सै घण्टा गुनासो र समस्या टिपाउन सकिनेछ ।