१३ बैशाख २०८१, बिहीबार

सैन्य प्रमुख मार्क मिलीले युक्रेनमाथि रुसी हमला ‘भीषण हुन सक्ने’ दिए चेतावनी

Mark Milley

अमेरिकी सैन्य प्रमुख मार्क मिलीले युक्रेनमाथि रुसी हमला ‘भीषण हुन सक्ने’ भन्दै त्यसबाट ठूलै सङ्ख्यामा हताहती हुन सक्ने बताएका छन्।

जनरल मिलीले युक्रेन सीमा नजिकै १ लाख रुसी सेनाको उपस्थिति शीत युद्ध यताकै सबभन्दा ठूलो भने।

तर अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले कूटनीतिको माध्यमबाट अझ पनि द्वन्द्व रोक्न सकिने बताए। रुसले आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ र युक्रेनलाई उपलब्ध अमेरिकी सहयोग खतरा रहेको बताउँछ।

एउटा प्रेस कन्फरेन्समा शुक्रवार जनरल मिलीले युक्रेनको सीमा क्षेत्रमा रहेको रुसी फौजको सङ्ख्याको अर्थ- आक्रमण भएमा गम्भीर परिणाम हुने बताएका थिए। मिली अमेरिकी राष्ट्रपति जो बाइडनका सबभन्दा उच्च सैन्य सल्लाहकार हुन्।

अमेरिकी दुईवटै सेनाका अध्यक्ष रहेका मिलीले भने, “यदि आक्रमण भयो भने त्यो असाध्यै ठूलो हुनेछ र त्यसबाट ठूलो सङ्ख्यामा मानिसको ज्यान जानेछ।” उनले भने “घना शहरी क्षेत्रमा हुने लडाइँ “भीषण र डरलाग्दो” हुनेछ।

‘अपरिहार्य होइन’ अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले युक्रेनले आफै बचाउ गरोस् भनेर सहयोग गर्न प्रतिबद्ध रहेको बताए। उनले थप हतियार उपलब्ध गराउन सकिने पनि बताए।

“द्वन्द्व अपरिहार्य छैन, अहिले पनि कूटनीतिका लागि ठाउँ छ,” अस्टिनले राष्ट्रपति पुटिनलाई तनाव घटाउन आग्रह गर्दै भने।

उनले भने, “यो अवस्था तनावमा परिवर्तन हुनुपर्ने कुनै कारण छैन… पुटिनले आफ्ना फौज फिर्ता जान आदेश दिन सक्छन्।”

शुक्रवार राष्ट्रपति बाइडनले छिटै पूर्वी युरोपमा नेटो उपस्थिति बलियो बनाउन सानो सङ्ख्यामा सैनिकहरू पठाउने बताएका थिए। उनले ती सैनिकहरू कहाँ पठाइने हो त्यो भने बताएनन्।

युक्रेनलाई नेटोको सदस्य नबनाइयोस् भने मस्कोको मुख्य माग अमेरिकाले अस्वीकार गरेको छ तर आफूले रुसलाई ‘गम्भीर राजनीतिक मार्ग प्रस्ताव गरेको’ जनाएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सुरक्षा चासोलाई बेवास्ता गरेको आरोप पश्चिममाथि लगाएका छन्। तर उनले केही गर्ने निर्णय गर्नु अघि अमेरिकी प्रतिक्रियाको अध्ययन गर्ने बताएका छन्। बीबीसी