१५ चैत्र २०८०, बिहीबार

उम्मेदवार बन्न मन लागेको हो, राष्ट्रपतिलाई स्थानीय तहको: भीम रावल

bhimrawal bidhya 69

नेकपा एमालेका नेता डा भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न मन लागे जस्तो देखिएको बताएका छन् ।

रावलले भने, “हाम्रो संविधानले राष्ट्रपति वा प्रधानमन्त्री कसैलाई पनि कानुनभन्दा माथि राखेको छैन । राष्ट्रपति र प्रधानमन्त्रीबीच राजनीतिक विषयमा छलफल हुन सक्छ ।

तर राष्ट्रपतिलाई कार्यकारी अधिकार छैन । न निर्वाचन आयोगले वक्तव्यबाजी गर्न मिल्छ, न त राष्ट्रपतिले पत्र पठाउन मिल्छ । यहाँ त सबैलाई (स्थानीय तहको) उम्मेदवार बन्न मन लागेजस्तो देखियो ।”

एमाले नेता डा रावलले स्थानीय तहको निर्वाचन समयमै नगरे आन्दोलन गर्ने वा नगर्ने पार्टीको निर्णयमा भर पर्ने बताए । उनले भने, “जसले भने पनि स्थानीय तह निर्वाचनका लागि संविधान र ऐन कानुन बाझिएको छैन ।

संविधानले गाउँ सभा र नगरसभा गठनमा ६ महिनाभन्दा बढी ढिला नहोस् भनेको मात्र हो । राजनीतिक नेताहरु त्यो बेला हामीले गरेका छलफलको बेवास्ता गर्नुभयो कि बिर्सिनुभयो ? ”

उनले एमालेको संसद् अवरोधको कुनै औचित्य नभएको पनि औंल्याए । उनले थपे, “संसद् अवरोध गर्ने हो भने सरकारका कामकारबाही रोकिनुपथ्र्यो । कि त शतप्रतिशत अवरोध हुनुुपथ्र्यो, कि सांसद जनताको मुद्दा उठाउन दिनुपर्थ्यो ।”

डा रावलले एमसीसी जस्ताको तस्तै पारित गर्यो भने मुलुक पराधीन हुने ठोकुवा पनि गरे । उनले भने, “नेपालको अस्थिरता, गरिबी, संस्कार हेर्दा कतै यो मुलुकलाई असफल राष्ट्र बनाउन कसैले साँचो घुमाइरहेको त छैन रु कुनै देशमा न्यायालय यस्तो हुन्छ ? यहाँका विभिन्न पात्रहरु विदेशीको गोटी बनिरहेका छन् ।”

हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा आफूमाथि अन्तर्घात गरेको आरोप लगाउनु मूढ बुद्धिको उपज भएको उनले दाबी गरे । डा रावलले भने, “सुदूरपश्चिम प्रदेशमा एमालेले जित्ने कुनै अवस्था थिएन ।

यस्तो अवस्थामा मैले अन्तर्घात गरेर हरायो कसैले भन्छ भने त्यो भनेर हराएँ भने त्यो मूढ व्यक्तिको सोच हो । यसले एमाले भूमिका कमजोर बनाउँछ ।”

उनले पार्टी छाड्ने, अर्को पार्टीमा जाने वा नयाँ दल खोल्ने कुरा नसोचेको पनि बताए । उनले थपे, “म नेकपा एमालेको सदस्य हुँ र प्रतिनिधिसभाको सदस्य छु ।

एमालेभन्दा अरु पार्टी जाने सोचेको पनि छैन । केही व्यक्तिलाई छिटो गैदिए खिचडीमा स्वादमा आउँछ भन्ने होला । त्यसमा मेरो केही भन्नु छैन ।”