७ बैशाख २०८१, शुक्रबार

गुनासो सेन्टर चौबीसै घण्टा खुला, कारबाही सुरू विदेश लगेर अलपत्र पार्नेलाई

shram ministry of labour

आकर्षक रोजगारी दिने प्रलोभन देखाएर भ्रमण भिसामा विदेश लगेर अलपत्र पार्नेलाई सरकारले नछाड्ने भएको छ । लामो समय बेखबरजस्तो बनेको सरकार केही दिनयता यसको विरुद्धमा तातेको हो ।

सरकार तातेसँगै भ्रमण भिसामा विदेशमा अलपत्र पार्ने कन्सल्टेन्सी र ट्राभल एजेन्सी सञ्चालकले आफूले विदेशमा अलपत्र पारेका नागरिकलाई स्वदेश फिर्ता पठाउन थालेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको त्रिनेत्र कन्सल्टेन्सीका सञ्चालक कोमल उपाध्यायमार्फत यूएईमा पुगेर अलपत्र भएका सात जना नेपाली स्वदेश फर्किएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनपछि उक्त कन्सल्टेन्सीले ती नागरिकलाई टिकट काटेर स्वदेश फर्काएको जनाइएको छ । उहाँले भ्रमण भिसाका नाममा नागरिक अलपत्र पार्नेलाई कडा कारबाही गर्ने बताउनुभयो ।

अन्य श्रम गन्तव्यको तुलनामा भ्रमण भिसामा यूएई गई श्रम स्वीकृति लिने श्रमिकको सङ्ख्या बढी छ । वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष श्रम स्वीकृति जारी भएका ११६ श्रम गन्तव्यमध्ये यूएईका लागि मात्र ५५ प्रतिशतले गैरश्रमिक भिसालाई श्रमिक भिसामा वैधानिकीकरण गरेको छ ।

विभागले पाँच हजार ३३६ भिसामध्ये यूएईका लागि दुई हजार ८९१ गैरश्रमिक भिसालाई श्रमिक भिसाका रूपमा वैधानिकीकरण गरी श्रम स्वीकृति लिइएको पाइएको छ ।

भ्रमण वा अन्य भिसामा विदेश गएर रोजगार अनुमति प्राप्त गरेपछि विभागबाट कानुनी रूपमा नै सो देशमा रोजगारीका लागि जान सकिने प्रावधान रहेको छ ।

गत वर्ष सबैभन्दा बढी अन्य भिसालाई वर्किङ भिसामा परिवर्तन गर्नेमा यूएर्ई रहेको छ । यूएईमा दुई हजार ८९१ जनाको भीसा परिवर्तन भएको छ भने कतारका लागि ६८६ जनाले लिएका छन् ।

गुनासो सेन्टर चौबीसै घण्टा खुला

यस्तै श्रम मन्त्रालयले आउँदो आइतबारदेखि मन्त्रालयमा गुनासो सेन्टर सञ्चालन गर्दै छ । उक्त गुनासो सेन्टरबाट चौबीसै घण्टा सेवा उपलब्ध हुनेछ । उक्त गुनासो सेन्टर मन्त्रीकै सचिवालयमा रहने जनाइएको छ ।

उक्त सेन्टरमा विदेशमा गएर समस्यामा परेका जो कोहीले गुनासो टिपाउन सक्नेछन् । मन्त्रालयका अनुसार उक्त गुनासोलाई मन्त्रालयले सकेसम्म छिटो समाधान गर्नेछ ।

मार्सल टिमले सुरु ग-यो काम

विदेशमा अलपत्र बनाउने दलालको फन्दाबाट जोगाउन सरकारले श्रम मन्त्रालयका उपसचिव विष्णु लामिछानेको नेतृत्वमा मार्सल टिम गठन गरेको छ ।

सो टिमले भ्रमण भिसामा विदेश पु-याउने दलाल, कन्सल्टेन्सी, ट्राभल एजेन्सीका सञ्चालकलाई खोजी गरेर आत्मसमर्पण गराउनेछ । मन्त्रालयका अनुसार उक्त टिमले शुक्रबारबाटै काम सुरु गरिसकेको छ ।

यो टिममा श्रम मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयका प्रतिनिधि सम्मिलित हुनेछन् । टिमले भ्रमण भिसा कुन कुन देश, के कस्तो प्रयोजनका लागि गरिन्छन् र रोजगारीका लागि जाने नागरिक के कस्ता कागजात मिलाएर भ्रमण भिसामा जान्छन् भन्ने विषयमा अध्ययन गरिरहेको छ ।

गत मङ्गलबार गठन भएका कार्यदलले १५ दिनमा भ्रमण भिसाका नाममा हुने ठगी, यसले निम्त्याएको समस्या र यसको समाधानका उपायसहितको अध्ययन गरेको प्रतिवेदन सरकारलाई बुझाउनेछ । त्यही आधारमा सरकारले मार्सल टिमलाई परिचालन गर्नेछ ।