१६ चैत्र २०८०, शुक्रबार

आफ्ना विरोधीलाई पाखा लगाउँदै क्यान

can bibad kheladi k4ZN5CprwF

नेपाल क्रिकेट संघ (क्यान)को पछिल्लो बोर्ड बैठकले चार क्रिकेट खेलाडीलाई गरेको कारवाही फिर्ता लिएजस्तो गरेर आफ्ना विरोधीलाई पाखा लगाउने काम गरेको छ ।

नेपाल क्रिकेट संघ भित्र आन्तरिकरुपमा झगडा छ भन्ने कुरा अहिले आम नेपाली क्रिकेट समर्थकका रुपमा घामजस्तै छर्लङ्ग छ । क्यानमा रहेका पदाधिकारीहरु कसरी आफूलाई स्थापित गर्ने र अरुलाई पाखा लगाउने भन्ने ध्याउन्नमै बढी केन्द्रीत देखिन्छन् ।

क्यानको आलोचना गर्दै आएका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको कप्तानी खोस्ने निर्णय यथावत राख्दै जनरल म्यानेजर रौनक मल्लको सम्झौता नवीकरण नगर्नुले पनि यो आशंकलाई थप बलियो बनाएको छ ।

खेलाडीको ग्रेडिङ सुधार, साधारण सभा मिति घोषणादेखि अन्य महत्वपूर्ण निर्णय गरेको क्यानको पछिल्लो बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तानीबाट हटाउने निर्णय भने यथावत राखेको छ । यसले क्यान नेतृत्वले पूर्वकप्तान मल्ललाई नियतबस कारवाही गरेको हो की भन्ने आशंका खेलकुद वृत्तमा चलिरहेको छ ।

अध्यक्ष चतुरबहादुर चन्दले केही समयअघि भनेको कुरालाई आधार मान्ने हो भने पनि मल्लले क्यान नेतृत्वको अस्तित्व नै स्वीकार गरेका थिएनन् । त्यसैले कप्तान परिवर्तनका लागि त पछिल्लो घटना भएको होइन् भन्ने आशंकालाई थप बलियो बनाएको छ ।

तत्कालिन कप्तान मल्लसहित चार जना खेलाडीलाई गरिएको कारवाहीविरुद्ध अन्य खेलाडीले ऐक्यबद्धता जनाएपछि क्यानले कारवाही त फिर्ता लियो तर, मल्लको कप्तानी फिर्ता भएन ।

आइसीसीको निलम्बन फुकुवा भएपछि बनेको कार्यसमिति र विषेशगरी अध्यक्षको काम गराइप्रति बेलाबेला मल्लले आलोचना गरिरहेका थिए । ग्रेडिङ लगायतका विषय उठाइए पनि पूर्व कप्तान ज्ञानेन्द्रको क्यान नेतृत्वसँग राम्रो सम्बन्ध नभएको कुरा जगजायरै छ ।

पछिल्लो बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । विभिन्न समितिका लागि जिम्मेवारी हस्तान्तरण, कर्मचारी नियुक्ति लगायतका निर्णय गर्दा जनरल म्यानेजर रौनक मल्लसँग पदअवधि सम्झौता नथप्ने भएको छ ।

अध्यक्ष चन्दसँग सम्बन्ध राम्रो नभएकै कारण जनरल म्यानेजर रौनक मल्लको सम्झौता पनि नवीकरण भएन भन्ने चर्चा पनि चलेको छ । यसले पनि यो प्रष्ट पार्छ की फरक मत राख्नेलाई क्यान पेलेरै अघि बढ्न चाहन्छ ।