१६ चैत्र २०८०, शुक्रबार

पब्जी खेल्दा गाली गरेको झोंकमा १४ वर्षीया किशोरले गरे आमासहित ४ जनाको हत्या

another pubg player kills

पब्जी खेल्दा गाली गरेको झोंकमा पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले आमासहित परिवारका ४ जनाको हत्या गरेका छन् ।

अघिल्लो हप्ता काहना इलाकामा ती किशोरले ४५ वर्षीया नाहिद मुबारक, दाजु २२ वर्षीय तैमुर, १७ वर्षीया दिदी र ११ वर्षीया बहिनीको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार उक्त १४ वर्षीय बालक पब्जी खेलको लत लागेको थियो । उनले खेलकै प्रभावमा आमा र परिवारका अन्य सदस्यको हत्या गरेको स्वीकार गरेका छन् । लामो समयसम्म लगातार अनलाइन खेलले उनमा मनोवैज्ञानिक समस्या उत्पन्न भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीले नाहिद मुबारकको सम्बन्धविच्छेद भएको र उनका १४ वर्षीय छोरा पढाइ छोडेर दिनभर पब्जी खेल्नमा व्यस्त रहने भएकाले उनका मानसिक चोछ पुगेको हुनसक्ने बताएको छ । दिनभर पब्जी खेल्ने गरेकाले आमाले गाली गरेपछि आलमारीमा भएको आमाको पेस्तोल निकालेर उनले सबै परिवारका सदस्यको हत्या गरेका थिए ।

प्रहरीका अनुसार अर्को दिन बिहान उक्त बालक चिच्याएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बालकले आफू माथिल्लो तल्लामा भएकाले परिवारका सदस्यको हत्या भएको कुनै जानकारी नभएको बताएका थिए ।