१२ बैशाख २०८१, बुधबार

प्रभावकारी योजनाका साथ तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

ccmc

गृहमन्त्री बालकृष्ण खाँडले सुख्खा मौसम सुरु हुनासाथ बढ्ने आगलागीको घटनाबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने प्रभावकारी योजनाका साथ तयारी अवस्थामा रहन सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरूलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको आज गृह मन्त्रालयमा बसेको १२ औँ बैठकमा गृहमन्त्री खाँडले सुख्खा मौसम सुरु हुनासाथ देखा पर्ने आगलागीको समस्याबाट बन जङ्गल तथा बस्तीहरूलाई जोगाउन आवश्यक योजनासहित तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।

गृहमन्त्री खाँडले प्राकृतिक विपद्मा परी कुनै पनि नागरिकको ज्यान जाने वा सम्पत्तिको क्षति हुने अवस्थाको अन्त्यका लागि राज्यका सबै निकायहरू बिच आवश्यक समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो ।

बैठकमा गृहमन्त्री खाँडले हिमपात र शितलहरबाट प्रभावित नागरिकको राहत र उद्दारका लागि मन्त्रालयले स्थानीय निकायलाई आवश्यक बजेट तथा खर्चको अख्तियारी पटाइसकेको र आवश्यकता अनुसार थप बजेट समेत उपलब्ध गराउने पनि जानकारी दिनुभयो ।

272977680 347970540668174 4298153439438055537 n

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले विपद् जोखिम न्यूनीकरणको पूर्व तयारी तथा विपद् पछिको राहत तथा पुनः स्थापनाको काम प्रभावकारी बनाउन स्थानीय तहको क्षमता विकासमा ध्यान दिनुपर्ने दिनुभयो ।

मन्त्री श्रेष्ठले प्राकृतिक विपद्को पूर्व सूचना प्रणाली विकासका लागि राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विपद्का कारण हुने धन जनको क्षति कम गर्न सरकारले कृषि तथा वस्तु बिमाका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो ।

मन्त्री झाँक्रीले प्राकृतिक विपद्का दृष्टिले जोखिमपूर्ण मानिएका बस्तीहरू स्थानान्तरण गरी एकिकृत बस्ती विकासका गर्न सहज हुने गरी कानूनी एवं नीतिगत प्रबन्धहरू मिलाउनुपर्नेमा पनि जोड दिनुभयो ।