८ बैशाख २०८१, शनिबार

बिहानै बैतडीमा बस दुर्घटना : ८ जना घाइते

accident

बैतडीको मेलौलीमा आज बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका ६ का ४८ वर्षीय कमलापती भट्ट, वडा नं. ९ का २४ वर्षीय दुर्गा भट्ट, सोही ठाउँका ६८ वर्षका रामसिह साउद, वडा नं. २ का २१ मनिस चन्द घाइते भएका छन् ।

यस्तै घाइते हुनेमा कञ्चनपुरको दैजिका २१ वर्षीया पुजा भट्ट, बैतडीको शिवनाथ गाउँपालिका ५ का २१ वर्षीय सुशीला चन्द, सोही ठाउँका २९ वर्षका जनक औजी र बारा जिल्लाका सिराज अन्सारी रहेका छन् ।

महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको ना ७ ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका २ रौतगाउँमा दुर्घटना भएको हो ।

घाइते सबैलाई उपचारका लागि डडेलधुरा लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

बस आज बिहान करिब ६ बजेको समयमा दुर्घटना भएको उहाँले बताउनुभयो ।

बस सडकबाट ५ मिटर तल खसेको छ । चालक वीरेन्द्र लुहारलाइ नियन्त्रणमा लिई दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रवक्ता खड्काले बताउनुभयो ।