१६ चैत्र २०८०, शुक्रबार

१८ स्थानमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी

613da8ce53f7f all party bhadua25
फाइल फोटो

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी हुनुभएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विजयी हुनुभएको छ ।

निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का उर्मिला अर्याल, भुवन सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की पनि निर्वाचित हुनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदय बोहरा र मदनकुमार शाह (गरिमा) निर्वाचित हुनुभएको हो । जनता (समाजवादी पार्टी नेपाल)का उम्मेदवार महम्मद खालिद र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा पनि आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गरी निर्वाचित हुन सफल हुनुभएको छ । उहाँहरू आगामी छ वर्षे कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माका अनुसार यस निर्वाचनमा दुई हजार २५ मतदाता कायम रहेकामा दुई हजार सात मत खसेको थियो । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

आगामी फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन भएको हो । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । राष्ट्रियसभा सदस्यको यस निर्वाचनमा महिला, दलित अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूह गरी १९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

निर्वाचनमा सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य तथा स्थानीय तहका गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष नगरपालकाका प्रमुख तथा उपप्रमुख मतदाता रहनुभएको थियो । प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिकाका प्रमुख उपप्रमुखको मतभार १८ रहेको छ ।