१५ चैत्र २०८०, बिहीबार

व्यापार घाटा : मन्त्रीहरु भाषण गर्छन् ठोस रणनीति बनाउँदैनन्

नेपालको व्यापार घाटा बढ्दै जानुमा पेट्रोलियम पदार्थको आयात मुख्य मानिन्छ । प्रत्येक वर्ष पेट्रोलियम पदार्थको आयातकै कारण नेपालको भारतसँग व्यापार घाटा बढ्दो छ । सरकारका मन्त्रीहरु नै पेट्रोलियम पदार्थको आयात घटाउन विद्युतीय ऊर्जा प्रयोग बढाउने बताउन छाड्दैनन् तर ठोस रणनीति पनि बनाइँदैन ।

केहीअघि ऊर्जामन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात घटाउन विद्युतीय ऊर्जा प्रयोग बढाउने घोषणा गर्नुभयो । तर, आम उपभोक्ताले सस्तोमा विद्युतीय ऊर्जा प्रयोग गर्न सकेका छैनन् । जसका कारण खाना पकाउने ग्यासको खपत घट्न सकेको छैन ।

२०२१ को डिसेम्बरमा निगमले ४९ हजार ८ सय ४ मेट्रिक टन खाना पकाउने ग्याँस आयात गर्‍यो । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा ८ हजार ९ सय ९५ मेट्रिक टनले धेरै हो । बजारमा ग्यासको खपत दिनप्रतिदिन बढ्दै गएकाले आयात वृद्धि हुँदै गएको हो । ग्रामीण क्षेत्रमा पनि ग्यास प्रयोग गर्नेको सख्या बर्सेनि २० प्रतिशतका दरले बढेको छ ।

२०२१ वर्षभरी ५ लाख १६ हजार ६ सय ३८ मेट्रिक टन ग्याँस आयात भएको छ । कुल वार्षिक खपतमा पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष ७३ हजार ४ सय मेट्रिक टनले बढी छ । निगमलाई पेट्रोल र डिजलले भन्दा पनि ग्यासबाट धेरै घाटा छ ।

निगमलाई एक महिनामा मात्रै २ अर्ब ३० करोड बराबर घाटा लागेको छ। निगमले प्रति सिलिण्डर ग्याँस २२ सय २१ रुपैयाँ १६ पैसा खर्च गर्छ भने उपभोक्ता मूल्य १५ सय ७५ रुपैयाँ मात्र छ । एक सिलिण्डर ग्याँसमै निगमलाई ६ सय ४६ रुपैयाँ १६ पैसा घाटा भइरहेको छ । ग्यासको आयात बढ्दै जाँदा निगमलाई थप आर्थिक भार थोपरिँदै गएको छ ।

तर, ग्यास तथा पेट्रोल, डिजेल र मट्टितेलको विकल्प विद्युतीय ऊर्जा हुन सक्छ । किनभने नेपालमा उत्पादन भएका विद्युत खेर गइरहेको छ । बिजुली सस्तोमा बेच्नु पर्ने बाध्यता रहँदा यसलाई पेट्रोलियम पदार्थको विकल्पका रुपमा अघि सार्ने सरकारसँग ठोस योजना नै छैन । फगत भाषण मात्रले कार्यान्वयन हुँन सक्दैन ।

त्यसका लागि सबै जटिलता हटाउन योजना बनाइनुपर्छ । बिजुलीबाट लाभ लिन भान्सामा विद्युतीय उपकरणको प्रयोग बढाउन विशेष पहल आवश्यक छ । नत्र पेट्रोलिय पदार्थको व्यापार घाटाले मुलुकको अर्थतन्त्रमा ठूलो असर पुराउने निश्चित छ ।