६ बैशाख २०८१, बिहीबार

बालिकालाई भारततर्फ लैजाने क्रममा मानव तस्कर पक्राउ

raju

१४ बर्षिया बालिकालाई अर्घाखाँची लगेर बिहे गर्ने भनेर भारत लैजान खोजेको अभियोगमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ भने पीडित बालिकाको उद्धार गरेको छ ।

बैतडी जिल्ला घर भएकी बालिका गत माघ ७ गतेदेखि सम्पर्कविहीन रहेको र निजको खोजतलास भइरहेको अवस्थामा माघ १० गते वीरगन्जबाट रक्सौल लैजान लागेको अवस्थामा शङ्कराचार्य गेटमा खटिएको प्रहरी टोली र माइती नेपाल संस्थाको समन्वयमा सोधपुछको क्रममा शङ्कास्पद अवस्थामा बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी ओम प्रकाश खनालले बताउनुभयो ।

बालिकालाई अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ७ घर भई हाल चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १ पोखरा बसपार्क बस्दै आएका २८ वर्षीय राजु अधिकारीले ललाइफकाइ भारततर्फ लगिरहेको अवस्थामा निजलाई समेत नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता खनालले बताउनुभयो ।

अनुसन्धानको क्रममा अभियुक्त अधिकारीले बालिकालाई बैतडीमै पुगेर आफ्नो कब्जामा पारी माघ ७ गते नै लिएर आएको र आफ्नो घर अर्घाखाँची लैजाने तथा अहिले घरमा बस्ने, उमेर पुगेपछि बिहे गर्ने प्रलोभन देखाएर भगाएको अनुसन्धानको क्रममा खुलेको प्रहरी प्रवक्ता खनालले बताउनुभयो ।

अभियुक्तलाई पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता खनालले बताउनु भयो ।

बालिकालाई माइती नेपाल वीरगन्ज युनिटको संरक्षणमा राखिएको छ ।