८ जेष्ठ २०८१, मंगलवार

यस्तो छ सात प्रदेशमा कोरोना संक्रमणको ग्राफ

covid district nepal

सातै प्रदेशमा कोरोना संक्रमणको ग्राफ उच्च छ । संक्रमण ग्राफ उच्च भए पनि अस्पतालमा भर्ना हुनेको संख्या भने दोस्रो लहरको तुलनामा कम छ । संक्रमितको अवस्था गम्भीर नभए पनि यसले जोखिम कायमै रहेको संकेत गरेको छ ।

प्रदेश १ मा कोराना संक्रमणदर ५४ दशमलव ७ प्रतिशत पुगेको छ । तर, संक्रमणको आधारमा हेर्ने हो भने अस्पताल भर्नादर भने न्यून छ । कुल संक्रिय सक्रमितको संख्या ८ हजारभन्दा बढी रहेको प्रदेश १ मा ७ हजार ९ सय ७० जना होम आइसोलेशनमा छन् ।

संस्थागत आइसोलेशनमा ९० जना, अस्पतालका आइसीयुमा ३२ जना र भेन्टिलेटरमा ६ जना छन् । कोरोनाको दोस्रो लहरमा संक्रमितलाई अस्पतालको प्रागंणमा राखेर समेत उपचार गर्नुपर्ने अवस्था आयो । तेस्रो लहरमा भने त्यस्तो अवस्था छैन ।

अहिलेको अवस्था नियन्त्रणमै छ । तर सावधानी नअपनाए, जटिल समस्या पनि आउन सक्ने आँकलन प्रदेश सरकारको छ । त्यसैले सबै नागरिकलाई सावधानी अपनाउन प्रदेश सरकारले आग्रह गरेको छ ।

मधेश प्रदेशले पनि कोरोनाको दोस्रो लहरमा धेरै समस्या झेल्नु पर्यो । कोरोनाको तेस्रो लहरमा भने अहिलेसम्मको अवस्था नियन्त्रणबाहिर छैन । मधेश प्रदेशमा सोमबारसम्मको तथ्याङ्क हेर्दा दुई हजार ९ सय ४२ जना होम आइसोलेशनमा छन्, नौ जना संस्थागत आइसोलेशन रहँदा नौ जनाको आइसीयुमा उपचार भइरहेको छ । मधेस प्रदेशमा पनि भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितको संख्या शुन्य छ ।

सबैभन्दा धेरै संक्रमित रहेको बागमती प्रदेशमा पनि अस्पतालमा भर्ना हुनु पर्नेको संख्या निक्कै कम छ । बागमती प्रदेशमा हाल ५८ हजार दुई सय ५३ जना होम आइसोलेशनमा, १ हजार १ सय १५ संस्थागत आइसोलेशनमा, १ सय ५६ आइसीयुमा, ३४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा पनि जटिल समस्या भएर अस्पताल भर्ना हुने संक्रमितको संख्या कम छ । सोमबारसम्मको तथ्याङ्क हेर्ने हो भने ५ हजार ८३ जना होम आइसोलेशनमा, ८८ जना संस्थागत आइसोलेशनमा, १६ जना आइसीयुमा , १ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

लुम्बिनी प्रदेशमा अस्पताल भर्ना हुन आउने बिरामीलाई पीसीआर परीक्षण अनिवार्य गरिएको छ । लुम्बिनी प्रदेशमा सोमबारसम्मको तथ्याङ्क हेर्ने हो भने ४ हजार १ सय २८ जना होम आइसोलेशनमा छन् । १ सय ६३ जना संस्थागत आइसोलेशनमा, २२ जना आइसीयु र १ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

आगामी दिनमा आइपर्न सक्ने जटिल समस्यालाई ख्याल गर्दे यतिबेला कोरोना महामारीसँग लड्न लुम्बिनी प्रदेश सरकार तयारीमा अवस्था छ ।

कर्णाली प्रदेशमा हाल ४ सय ३६ जना होम आइसोलेशनमा छन् । २७ जना संस्थागत आइसोलेशनमा छन् भने आइसीयु र भेन्टिलेटरमा संक्रमितको संख्या शुन्य छ ।

सुदूरपश्चिम प्रदेशमा सोमबारसम्मको तथ्याङ्क हेर्दा, १ हजार ९ सय ६७, २ सय ७९ संस्थागत आइसोलेशनमा, ३ जना आइसीयु र १ जना भेन्टिलेटरमा उपचाररत छन् । कोरोना संक्रमण दर बढिरहेका बेला, सातै प्रदेशको अवस्था हेर्ने हो भने जटिल समस्या भएका संक्रमितको संख्या कम छ । यही अवस्थामा सबैले स्वास्थ्य सावधानी अपनाउने हो भने कोरोना संक्रमणलाई शून्यमा झार्न धेरै समय नलाग्न सक्छ ।