१६ चैत्र २०८०, शुक्रबार

सरकारलाई निर्वाचन आयोगले भन्योः स्थानीय तह निर्वाचनको मिति चाँडै तोक्नू

Election Commission Nepal

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार (आज) विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनको मिति तोक्न बिलम्व हुँदै जाँदा निर्वाचन व्यवस्थापनको काममा समस्या पर्ने भन्दै सरकारलाई यस्तो आग्रह गरेको हो ।

आयोगले गत कात्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भए आगामी वैशाख १४ गते र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव दिएको थियो ।

गत पुस ९ गते पनि प्रधानमन्त्रीलाई भेटेर आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गरेका थिए । आफ्नो सुझाव अनुसार सरकारले मिति तोक्नमा ढिलाइ गरेपछि आयोगले पुन सरकारको ध्यानाकर्षण गराएको हो ।

‘वर्तमान संवैधानिक एवम् कानूनी ब्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति बिलम्व हुँदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तिमा भनेका छन् ।

जेठ ५ गतेभित्र निर्वाचन गर्नका लागि निर्वाचन आयोगले पनि तयारी गर्नुपर्ने भन्दै आयोगले सरकारलाई निर्वाचनको मिति तोक्नका लागि पटक पटक भन्दै आएको छ ।

Election comission Rrelease1