७ बैशाख २०८१, शुक्रबार

महँगी बढ्यो: एक हजार ८०० खाना पकाउने ग्यासको मूल्य, अनुगमन भएन

gas

कालीकोटमा खाना पकाउने ग्यासको मूल्य बढेको छ । छ महिनाअघि प्रतिसिलिन्डर एक हजार ६०० रुपियाँ रहेकामा अहिले २०० बढेर एक हजार ८०० पुगेको छ । ग्यास बिक्रेता नन्दबहादुर शाहीले मूल्य अझै बढ्न सक्ने बताउनुभयो । उहाँले छ महिनाको अवधिमा कालीकोटमा छ पटक मूल्य बढेको जानकारी दिनुभयो ।

जिल्लामा ग्यासको मात्र मूल्य बढेको छैन, अन्य उपभोग्य सामानको मूल्य झन् बढेको छ । सदरमुकाममा खाने तेलको मूल्य पेटीमा ४०० ले बढेर दुई हजार ६०० रुपियाँ पुगेको छ । यस्तै चामल सुमो एक हजार ६०० बाट वृद्धि भएर दुई हजार रुपियाँमा पुगेको छ भने मास, मुसुरोको दाल १३५ बाट बढेर १८० रुपियाँ पुगेको छ ।

उद्योग वाणिज्य सङ्घ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले डिलरबाटै बढेर आएकाले आफूहरूले केही गर्न नसक्ने बताउनुभयो । मूल्य बढेपछि उपभोक्ता भने आक्रोशित छन् । बजार अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालयका कर्मचारी नै कोरोनाले थला परेकाले पनि खाद्यवस्तुको मूल्य बढाएको हुनसक्ने आशङ्का उपभोक्तामा छ ।

जिल्लामा ग्यासको मूल्य एक हजार ८०० रुपियाँ हँुदा रास्कोट, पलाँता, पचालझरना, सान्नीत्रिवेणी, नरहरिनाथलगायतका स्थानीय तहमा दुई हजार ६०० देखि तीन हजार रुपियाँसम्म पुगेको उपभोक्ताको गुनासो छ ।