७ बैशाख २०८१, शुक्रबार

(भिडियो) अमेरिकी राष्ट्रपति बाइडेनले पत्रकारलाई मुख छाडेको भिडियो भाइरल

joe biden
फाइल फोटो

अमेरिकी राष्ट्रपति जो बाइडेनले पत्रकारमाथि अपशब्द प्रयोग गरेको भिडियो अहिले भाइरल बनेको छ । 

अमेरिकामा बढ्दो महँगीबारे प्रश्न गर्ने पत्रकारमाथि बाइडेनले अपशब्द प्रयोग गरेका हुन् । बाइडेनले मुख छाडेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

फक्स न्युजका पत्रकार पिटर डुसीले बाइडेनलाई देशमा बढ्दो महँगीका कारण मध्यावधि चुनावमा पार्टीलाई कति घाटा हुन्छ भनेर प्रश्न गरेका थिए । यसबारे जवाफ दिँदै बाइडेनले आफ्नो पार्टीलाई घटा नभएर फाइदा हुने बताएका थिए । त्यसपछि भने उनले पत्रकारलाई अपशब्द प्रयोग गर्दै गाली गरेका थिए ।

बाइडेनले पहिले पनि कयौँ पत्रकारलाई गाली गरिसकेका छन् । गत हप्ता फक्स न्युजकी एक महिला पत्रकारले युक्रेन मामिलामा उनलाई तपाईं किन रुसका राष्ट्रपतिले पहिलो कदम उठाओस् भनेर पर्खिराख्नु भएको छ ? भनेर सोधेकी थिइन् । यसमा क्रुद्ध बनेका बाइडेनले उनलाई यो प्रश्न बेवकुफीले भरिएको बताएका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेन सत्तामा आएको एक वर्ष पुरा भएको छ । यसबीचमा उनले लिएका कयौँ निर्णयमा प्रश्न उठेका छन् । गत महिना बेलायतको मार्केट रिसर्च कम्पनी यूगभले सार्वजनिक गरेको सन् २०२१ को सबैभन्दा मनपराइएका पुरुषको सूचीमा बाइडेन डोनाल्ड ट्रम्पभन्दा पनि तल रहेका थिए । सूचीमा ट्रम्प १३ औँ नम्बरमा रहँदा, बाइडेन २० औँ स्थानमा रहेका थिए ।