१३ बैशाख २०८१, बिहीबार

लगातारको हिमपातले हिमाली क्षेत्रको जनजीवन प्रभावित

manage himpat
फाइल फोटो

लगातारको हिमपातले बाजुराका हिमाली भूभाग लगायत सुदूरपश्चिम र कर्णाली प्रदेशको जनजीवन प्रभावित भएको छ ।

गत शुक्रवारदेखि निरन्तर हिमपात भएपछि अत्यधिक चिसोले जनजीवन नराम्री प्रभावित भएको छ । एक ठाउँबाट अर्को ठाउँमा आवागमन गर्न समस्या भएको छ । जिल्लाको उत्तर पूर्वी कुण्डाक्षेत्र टेलिफोन सम्पर्क विच्छेद बनेको छ ।

चिसो बढेपछि बाजुराको सदरमुकाम मार्तडी, हिमाली हुम्लाको सदरमुकाम सिमकोट लगायतको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोले दैनिक काममा समस्या भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

निरन्तरको हिमपातले नेपालगन्जबाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुने नियमित उडान सेवा बन्द भएका छन् । दैनिक नेपालगन्ज बाट ३० देखी ४० सम्म हुने उडान सेवा बन्द भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले जनाएको छ । उडान गर्न खोज्दा पनि प्रतिकुल मौसमले हुने नसकेको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले जनाएको छ ।

बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानीय तह हुम्ला, मुगुका केही क्षेत्र सञ्चार विहीन बनेका छन् । टावरमा रहेका सोलारका ब्याट्रीमा चार्ज नभएपछि सञ्चार विहीन बनेका टेलिकम बाजुराले जनाएको छ ।

उत्तरी क्षेत्रका ४ स्थानीय तह हुम्ला, मुगु र कालिकोटका केही टावरमा लिङ्क भएको पोरखे टावरमा बिद्युत् पावर नहुँदा टावर सञ्चालनमा आउन नसकेको टेलिकम बाजुराले जनाएको छ । ती क्षेत्रमा फोन र इन्टरनेट नहुँदा स्थानीय तहको काम काज प्रभावित भएको छ ।

बाजुराका उत्तर पूर्वी क्षेत्रमा तिन दिनदेखि हिमपात हुँदा नेपाल टेलिकमका कालाजग्रा, जगन्नाथ, र कोल्टी लगायतका टावरका पाता हिउँले ढाकिएका छन् ।

चिसाको कारणले हिमाली भेगका गाँउमा बस्न नसकिने अवस्था भएपछि केही बस्ती बेसीतिर झरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिकामा पनि चिसोले जनजीवन प्रभावित बनेको स्थानीय उत्तम हमालले बताउनुभयो ।

कर्णालीका हुम्ला, मुगु, जुम्ला, कालिकोटमा चिसोले भाइरलका बिरामी समेत बढेका छन् । चिसोका कारणले रुघाखोकी, ज्वरोका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

चिसो मौसममा अत्यावश्यक काम बाहेक बिहान र बेलुका घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीको सुझाव छ ।