७ बैशाख २०८१, शुक्रबार

आरोपै-आरोप गठबन्धन सरकारमाथि एमालेको

kp oli
फाइल फोटो

प्रमुख प्रतिपक्षी नेकपा एमालेले वर्तमान सरकार असफल भएको आरोप लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रेस वक्तव्य जारी गर्दै सरकार शक्तिपृथकीकरण र राज्यका अंगहरुको सन्तुलन मिलाउन असफल भएको टिप्पणी गर्नुभएको छ । मुलुकको अर्थतन्त्र, बाह्य सम्बन्ध र शान्ति–सुरक्षाको अवस्था सुधार गर्न वर्तमान सरकारले नसकेको उहाँको आरोप छ ।

सरकारको ६ महिने कार्यकाललाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असफल मानेको छ । १५ बुँदामा प्रस्तुत कमजोरीमा आर्थिक संकटको अवस्था, शक्तिपृथकीकरण र राज्यका अंगहरुको सन्तुलन मिलाउन असफल, न्यायालयको संकट, बाह्य शक्ति सन्तुलनमा असफलता, कोभिड महामारीमा काम गर्न नसकेको, स्थानीय तहको निर्वाचन गर्ने नियतमा खोट जस्ता आरोपहरु लगाइएको छ ।

एमालेको नजरमा सरकारका कमजोरीः
१. सत्ता गठबन्धन र अदालतबीच लेनदेनमा परमादेश
२. आफ्नो दल विभाजन गर्न सभामुखको सक्रियता
३. राज्यका तीनै अंग संकटमा, राष्ट्र असफलतातर्फ
४. न्यायालयलाई पंगु र निरीह बनाउने प्रयास
५. नयाँ सरकार गठनपछि अर्थतन्त्रका सबै सूचक नकारात्मक
६. विकासका गति ठप्प
७. मूल्यवृद्धि आकाशिदो, मुद्रास्फिति ६ वर्षयताकै उच्च विन्दूमा
८. पहिलो पाँच महिनामै व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि
९. अर्थमन्त्रालयबाटै आर्थिक अपचलन
१०. उद्यमी तर्साउन सरकारकै मन्त्रीको सक्रियता
११. आर्थिक वर्षको पहिलो ६ महिनासम्म विदेशी अनुदान शून्यप्रायः
१२. मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलनहरू, कूटनीतिक पहलमा पूर्ण असफल
१३. आफ्नो भूमि फिर्ता लिन भारतसँग कुनै पहल नगरेको, महाकाली नदी तुइन प्रकरणमा मौन
१४. चीनसँग अनावश्यक विवाद निकालिएको
१५. एमसीसीमा भूराजनीतिक विवाद निम्त्याउने प्रयास
१६. स्थानीय तहको निर्वाचन नगर्ने नियत राखेर अनावश्यक वहानाबाजी
१७. कोरोना महामारीमा निर्लज्जता प्रस्तुत, खोप गायव
१८. खोप हुँदा–हुँदै पनि आम नागरिकले पाउन नसकेको
१९. ललिता निवास जग्गा प्रकरणमा सरकार निकटका लागि उन्मुक्ति दिने प्रयास
२०. किसानलाई राहत हुने गरी काम गर्न नसकेको
२१. सङ्क्रमणकालीन न्यायको विषय छिटो टुङ्ग्याउन र पीडितहरुलाई न्याय दिलाउन अनिच्छुक

सरकारका काममा खोटैखोट लगाएको एमालेले एउटै पनि सकारात्मक काम देखेको छैन ।