७ बैशाख २०८१, शुक्रबार

युक्रेन छोड्न अमेरिकाले दियो आफ्ना कर्मचारीलाई आदेश

us ukrane karmachari

रुस र युक्रेनबीच तनाब बढिरहेका बेला अमेरिकाले आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले युक्रेनमा रहेका अमेरिकी नागरिकलाई युक्रेन छाड्नेबारे विचार गर्न समेत आग्रह गरेको छ।

मन्त्रालयको विज्ञप्तिमा रुसले युक्रेनमाथि महत्वपूर्ण सैन्य कारबाही गर्ने योजना बनाएको रिपोर्ट आएको उल्लेख छ । नेटो गठनबन्धन सेनाका प्रमुखले रुसले युक्रेनको सीमामा करिब १ लाख सेना जम्मा गरेपछि युरोपमा नयाँ द्वन्द्वको खतरा रहेको चेतावनी दिएका छन् ।

युक्रेनमाथि आक्रमण गरे रुसलाई ठोस जवाफ दिने अमेरिकाले चेतावनी दिएको छ। तर रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको दाबी अस्वीकार गरेको छ ।

हिजो मात्र अमेरिकाले यूक्रेनलाई हतियारसहित ९० टन सहयोग सामग्री पठाएको छ । रुसले सन् २०१४ मा युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफुमा विलय गराएको थियो ।

यसपछि युक्रेनी सेना र रुस समर्थित विद्रोहीबीच चर्किएको संघर्षमा १४ हजार भन्दा बढीको मृत्यु भैसकेको छ। २० लाख मानिस विस्थापित भएका छन् ।