१६ चैत्र २०८०, शुक्रबार

ओखलढुङ्गामा डोजरले लडाएको ढुङ्गाले गुडिरहेको जिपलाई किच्दा ३ जनाको निधन, ३ घाइते

durghatna

ओखलढुङ्गामा गुडिरहेको बोलेरो जिपलाई माथिबाट झरेको ढुङ्गाले किच्दा ३ जनाको घटनास्थलमै निधन भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुङ्गाले किच्दा ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको निधन भएको हो ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का ७ वर्षीय युनिषा कोइराला, सोही ठाउँका १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् ।

घाइतेको अहिले ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकोप्टर मार्फत राजधानी पठाउने तयारी भइरहेको छ ।

सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।