७ बैशाख २०८१, शुक्रबार

आ–अफ्नै दाउका कारण सत्ता समीकरण संकटमा पर्ने संकेत !

Deuba Prachand Madhav Nepal

सत्ताघटकका दलहरुको आ–अफ्नै दाउका कारण सत्ता समीकरण संकटमा पर्ने संकेतहरु देखिन थालेका छन् । स्थानीय तहको निर्वाचन पहिले कि संसदीय निर्वाचन पहिले भन्नेमा सत्तागठबन्धनभित्र मतभेद बढिरहँदा गठबन्धनको भविष्यबारे आँकलन शुरु भएको हो ।

संसदको निरन्तर अवरोध र अमेरिकी सहयोग परियोजना (एमसीसी)का कारण समस्यामा परेको सत्तागठबन्धनभित्र स्थानीय तहको निर्वाचन पहिलेकी संसदीय निर्वाचन भन्ने विषयले राजनीतिक माहोल गर्माएको छ । कानूनी व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन पहिले गर्नुपर्ने भन्दै निर्वाचन आयोगले सक्रियता बढाइसकेको छ ।

सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पहिले स्थानीय निर्वाचनकै पक्षमा छन् । तर, कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तागठबन्धनको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहालको संसदीय चुनावमा जानुपर्ने अडानका कारण अन्योलमा पर्नुभएको छ ।

दाहाल र नेपालको चित्त नबुझाउँदा गठबन्धन टुट्न सक्ने भयमा देउवा देखिनुहुन्छ। त्यसैले देउवाले गठबन्धन सरकार बनेको ६ महिना पुगेको अवसरमा गरेको सम्बोधनमा पनि निर्वाचनबारे गोलमटोल धारणा राख्नुभयो । उहाँले कुन निर्वाचन पहिले भन्नेबारे बताउनुभएन । बरु एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने बताउनुभयो ।

सत्तागठबन्धनभित्र वैशाखमा स्थानीय तहको चुनाव नगर्ने र मंसिरमा एकैपटक ३ तहको निर्वाचन गर्ने मोटामोटी सहमति बनेको बताइएको छ । पहिला संसदीय निर्वाचन भन्ने माओवादीभित्र पनि अहिले एकै पटक तीन तहको निर्वाचन गर्ने बारे छलफल शुरु भएको छ ।

उसो त सत्तागठबन्धनभित्र पहिला स्थानीय तहको निर्वाचन गर्दा त्यसको लाभ कांग्रेसलाई धेरै हुने र संसदीय चुनाव पछि गर्दा त्यसको असर आफूहरुलाई पर्ने बुझाइमा दाहाल र नेपाल देखिनुहुन्छ ।

उता, कांग्रेस पनि गठबन्धन भत्किएर निर्वाचनमा जाँदा कतै दाहाल र नेपाल पुनः एमालेसँग सहकार्य गर्ने अवस्थामा पुग्छन् की भन्ने त्रासमा देखिन्छ । यहि त्रासले कांग्रेस गठबनधन जोगाएरै निर्वाचनमा जाने मुड बनाएर बसेको छ ।

आगामी निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेरै भन्नेमा कांग्रेसभित्र मतभेदछ । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा भने कांग्रेससँग गठबन्धन गरेरै चुनावमा जाने पक्षमा देखिन्छन् । तर, एमसीसीको विषयमा माओवादी र एकीकृत समाजवादी फरक कित्तामा छन् ।

जबकी प्रतिपक्षी एमाले एमसीसीका बारेमा सकारात्मक देखिन्छ । कांग्रेसकै छातामा आफुलाई सुरक्षित गर्ने दाहाल र नेपालको योजनामा कांग्रेसले एक्लै निर्वाचन लड्ने निर्णय गरेमा तुषारापात हुनेछ ।

एमसीसीमा सकारात्मक नबने देउवा र एमाले अध्यक्ष केपी ओलीबीच हार्दिकता बढ्न सक्ने सम्भावना पनि जिवित छ । यस्तो अवस्थामा सत्ता गठबन्धनको भविष्य जुनकुनै बेला दुर्घटनामा पर्न सक्ने राजनीतिका जानकारहरु बताउँछन् ।