७ बैशाख २०८१, शुक्रबार

तेस्रो लहरको कोरोना सङ्क्रमण बाट पर्सामा पहिलो व्यक्तिको निधन

covid death

पछिल्लो पटक पर्सामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको निधन भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको निधन भएको हो । मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ ।

कोरोना सङ्क्रमणको तेस्रो लहरमा पर्साको यो नै पहिलो निधनको घटना हो । सङ्क्रमित पुरुष वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए । सङ्क्रमणको लक्षण देखा परेपछि यही माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि निजी अस्पतालले उपचारका लागि सङ्क्रमितलाई नारायणी अस्पतालमा रेफर गरेको थियो ।

मधुमेह, कोभिड र निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको र उनले कोरोनाको खोप पनि नलगाएको पाइएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।