७ बैशाख २०८१, शुक्रबार

धिताेमा कडाइ गर्ने राष्ट्र बैंककाे नीतिसँगै बैंकको कर्जा प्रवाहमा गिरावट

rastra bank

बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर धितो कर्जालाई कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति र कम्पनीहरूको बजारमूल्य समेत ओरोलो लागेपछि बैंकहरूको कर्जा प्रवाह घट्न थालेको हो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट शेयर धितो कर्जामा पहिलोपटक प्रतिग्राहक ऋणमा सीमा निर्धारण गरेको थियो । यसैगरी दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीहरूको मूल्य घटेको छ ।

यसकारण बैंकहरूले शेयर धितो कर्जा घटाउँदै लगेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले २०७८ साउनमा १ खर्ब ८ अर्ब ५६ करोड रुपैयाँ शेयर धितोमा कर्जा प्रवाह गरेकोमा मङ्सिरसम्ममा करीब ८ अर्ब रुपैयाँले घटेर १ खर्ब ६३ करोड रुपैयाँमा झरेको छ ।

२०७७ मङ्सिरसम्मको तुलनामा २०७८ मङ्सिरसम्ममा समग्र शेयर धितो कर्जा ५ दशमलव ३ प्रतिशतले घट्दा १ करोडभन्दा बढीको कर्जा भने १३ दशमलव १ प्रतिशतले घटेको छ । तर, ५० लाखदेखि १ करोडसम्मको कर्जा १० दशमलव ६ प्रतिशत, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १० दशमलव १ प्रतिशत र २५ लाख रुपैयाँभन्दा कमको कर्जा १८ दशमलव ६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।