६ बैशाख २०८१, बिहीबार

स्वास्थ्य मन्त्रालयले सबै प्रदेशमा पठायो एक करोड ३३ लाख चक्की सिटामोल

health

पछिल्लो केही दिनयता बजारमा पारासिटामोलको अभाव देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा पारासिटामोल पठाएको छ । मन्त्रालयले केन्द्रीय मेडिकल स्टोर पथलैयाबाट सबै प्रादेशिक स्टोरमा पारासिटामोल पाँच सय एमजीका ट्याब्लेट वितरण गरेको हो ।

मन्त्रालयका अनुसार सबै प्रदेशमा एक कराेड ३३ लाख ४२ हजार ट्याब्लेट पारासिटामोल पठाएको छ । प्रदेशमा पठाइएको बाहेक सरकारसँग ११ लाख ५८ हजार ट्याब्लेट पारासिटामोल स्टक रहेको छ।

कुन प्रदेशमा कति पठाइयो ?

मन्त्रालयका अनुसार प्रदेश १ स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरमा २७ लाख ६४ हजार, मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषामा २१ लाख ३० हजार सिटामोल पठाइएको छ ।

त्यसैगरी बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडामा १० लाख ९८ हजार, गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरामा १८ लाख र लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा २७ लाख ३० हजार सिटामोल पठाइएको छ ।

सँगै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्जमा (कर्णाली प्रदेशका लागि) १० लाख २० हजार र सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा १८ लाख सिटामोल पठाएको मन्त्रालयले जनाएको छ ।