१३ बैशाख २०८१, बिहीबार

फुटको संघारमा जसपा, भट्टराई पक्षको यस्तो चेतावनी

Upendra Baburam
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) मा विवाद चुलिएको छ । देउवा नेतृत्वको सरकारमा मन्त्री पठाउँदा र पार्टीको तर्फबाट राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवारी चयन गर्दा पार्टी अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको भन्दै संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्ष असन्तुष्ट बनेको हो । यादव पक्ष एकलौटी रुपमा अघि बढ्न खोजेमा पार्टी विभाजनको अवस्था आउन सक्ने चेतावनी भट्टराई पक्षीय नेताहरुले दिएका छन् ।

पार्टी विभाजन भएको ६ महिना पुग्न नपाउँदै जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद पुनः छताछुल्ल भएको छ । पछिल्लो विवादलाई लिएर पार्टी विभाजन हुनेसम्मका अडकलबाजी शुरु भएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनका लागि एक ठाउँमा उभिएका जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईका बीच पछिल्लो समय दूरी बढ्दै गएको छ । तत्कालीन पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले ओलीलाई सहयोग गर्दै सरकारमा सहभागी भएपछि जसपा विभाजन भएको थियो ।

विभाजपछि ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भैसकेको छ । विवादले एउटा खेमा बाहिरिइसकेको जसपामा फेरि खटपट शुरु भएको हो । समावेशी नेतृत्व र सामूहिक निर्णय अनुसार पार्टी सञ्चालन गर्ने नीति अंगीकार गरेको जसपामा पछिल्लो पटक अध्यक्ष यादवले एकलौटी गरेको आरोप संघीय परिषद् अध्यक्ष भट्टराई पक्षले लगाएको छ ।

देउवा नेतृत्वको सरकारमा यादवले एकलौटी ढंगले मन्त्री पठाएकोमा असन्तुष्ट बनेको भट्टराई पक्ष माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पनि छलफल नै नभएपछि थप क्रुद्ध बनेको हो । यादव पक्ष एकलौटी रुपमा बढ्न खोजेमा पार्टी विभाजनको अवस्था आउन सक्ने भट्टराई पक्षीय नेताहरुले चेतावनी दिन थालेका छन् ।

असन्तुष्ट समूहले कार्यकारिणी समितिको बैठक तत्काल बोलाउन माग गरिरहेका छन् तर यादव भने बैंठक राख्न आनकानी गरिरहेको आरोप लाग्न थालेको छ । यादव पक्षीय नेताहरुले भने पार्टीमा कुनै किसिमको विवाद नरहेको दाबी गर्छन् ।

जीवन्त पार्टीमा बिचारको प्रवाह हुने भएकाले विवाद जस्तो देखिनु सामान्य भएको यादव पक्षीय नेता कृषिमन्त्री महेन्द्रराय यादवको भनाइ छ । पार्टी विभाजन हुनै नसक्ने र विभाजन आउन नदिन राष्ट्रियसभाको निर्वाचनपछि असन्तुष्ट समूहसँग पार्टीमा छलफल हुने उहाँको दाबी छ ।

जनता समाजवादी पार्टीको विधानमा समावेशी नेतृत्व र सामुहिक निर्णयमा जानुपर्नेमा जोड दिइएको छ । तर पार्टी सञ्चालनमा भने नेतृत्व एकलौटी ढंगले अघि बढ्न खोज्दा पटक पटक दुर्घटनाको शिकार भएको छ ।