१३ बैशाख २०८१, बिहीबार

तेस्रो साता सङ्क्रमण उच्च पुग्ने, १३ हजार अस्पताल भर्ना हुने

Corona Dischargde

सरकारले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर माघ महिनाको तेस्रो साता उच्च बिन्दुमा पुग्ने अनुमान गरेको छ ।

माघको तेस्रो साता नेपालमा दैनिक सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा बढी हुनसक्ने पीसीआर विधिको आधारमा अनुमान सरकारले गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले जानकारी दिनुभयो ।

‘पीसीआर विधिबाट गरिएको परीक्षणको आधारमा माघको तेस्रो सात सङ्क्रमित २० हजारसम्म पुग्छ भनेर अनुमान गरेका छौँ । त्यस्तै, एन्टिजेन परीक्षण गर्दा यो सङ्ख्या अझै बढ्न सक्छ,’ डा. पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले दैनिक सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा बढी देखिएसँगै अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्यामा पनि बढ्ने अनुमान गरेको छ ।

‘करिब १३ हजार सङ्क्रमित व्यक्ति अस्पताल भर्ना हुने देखिन्छ भने त्यसमध्ये करिब ३९५ जना क्रिटिकल हुने र एक हजार बढीमा जटिल प्रकारको सङ्क्रमण देखिने अनुमान सरकारले गरेको छ,’ उहाँले भन्नुभयो । त्यस्तै ९ हजार ८४८ मा भने सामान्य लक्षण मात्रै देखिने सरकारको अनुमान छ ।

सङक्रमणदर बढेसँगै विस्तारै ओरोलो लाग्ने अनुमान गरेको डा. पौडेलले जानकरी दिनुभयो ।

दोस्रो लहरमा भोगिएको अक्सिजन अभावलाई यो लहरमा दोहोरिन नदिन मन्त्रालयले तयारी गरिसकेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा दैनिक कुल चार हजार ८२, मधेस प्रदेशमा कुल तीन हजार ७७८, बागमती प्रदेशमा कुल १२ हजार ४२४, गण्डकी प्रदेशमा कुल दुई हजार १२४, लुम्बिनी प्रदेशमा कुल चार हजार ३४०, कर्णाली प्रदेशमा कुल ३१२ र सुदूरपश्चिम प्रदेशमा कुल ४३६ सिलिण्डर अक्सिजन दैनिक उत्पादन हुने गरी क्षमता वृद्धि गरेको छ ।

नेपालमा आइसियू, भेन्टिलेर, एचडीयू कति छन् ?

मन्त्रालयको तथ्याङ्क अनुसार देशभरमा आठ हजार २०२ आइसोलेसन, ३२४ एचडीयू, दुई हजार ७९७ आइसियू बेड र एक हजार आठ भेन्टिलेटर बेड छन् ।

त्यस्तै, काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४९४ आइसोलेसन, एचडीयू बेड ३२४, आइसियू बेड ४४५ र भेन्टिलेटर २५४ वटा रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आइसियू, भेन्टिलेर, एचडीयूको सङ्ख्या कुन प्रदेशमा कति ?

प्रदेश १ मा ८१९ आइसोलेसन, ५६८ एचडीयू बेड, ३४२ आइसियू बेड, १४८ भेन्टिलेटर बेडहरु छन् ।

त्यस्तै, प्रदेश २ मा एक हजार ६८० आइसोलेसन, ६९५ एचडीयू बेड, ३९६ आइसियू बेड, १२४ भेन्टिलेटर बेड छन् ।

यता, बागमतीमा तीन हजार २८३ आइसोलेसन, एक हजार १९१ एचडीयू बेड, एक हजार ४ आइसियू बेड, १२४ भेन्टिलेटर बेड छन् ।

त्यस्तै, गण्डकीमा ६५१ आइसोलेसन, ४४४ एचडीयू बेड, २२८ आइसियू बेड, ८२ भेन्टिलेटर बेड छन् भने लुम्बिनीमा ४५२ आइसोलेसन, ६४० एचडीयू बेड, २३९ आइसियू बेड, ५६ भेन्टिलेटर बेड छन् ।

यसैगरी, कर्णालीमा ६०७ आइसोलेसन, ९६ एचडीयू बेड, ९७ आइसियू बेड, ३५ भेन्टिलेटर बेड छन् । सुदूरपश्चिममा ७१० आइसोलेसन, २१३ एचडीयू बेड, ७२ आइसियू बेड, ३१ भेन्टिलेटर बेड छन् ।